लेबनानमा उद्धार गरिएकालाइ नेपाल ल्याइदै

२०७१ बैशाख १ गते, सोमबार

काठमाडौ । मध्यपूर्वी मुलुक लेबनानमा गैर कानुनी हैसियतमा लुकेर बसेका ३९ नेपालीलाई उद्धार गर्दै आज काठमाडौं ल्याइने भएको छ । नेपालीको स्थितिबारे बेरुतमा गरिएको खोजबिनमा उनीहरू सम्पर्कमा आएको त्यहाँकोसमेत सहप्रमाणीकरण हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले जनायो । दूतावासका अनुसार तीमध्ये ३१ जनालाई लेबनानस्थित अन्तर्राष्ट्रिय आप्रवासन संगठन -आईओएम)ले र बाँकीलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सहयोगबाट टिकट उपलब्ध गराइएको हो । ‘सम्पर्कमा आएका सबैलाई बिना जरिवाना र कठिनाइ घरफिर्तीमा मद्दत गर्नमा बेरुतस्थित अध्यागमन विभागले सहयोग गरेको छ,’ कार्यवाहक राजदूत कौशलकिशोर रायले कान्तिपुरसँग फोनमा भने । उनी बेरुतमा ७ दिने प्रशासनिक तथा कूटनीतिक समन्वय जुटाएर हालै कायरो फिरेका हुन् ।
लेबनानस्थित गैरआवासीय नेपाली संघको सहयोगमा कागजातहीन अवस्थाका नेपाली श्रमिकको खोजी गरी घरफिर्तीका लागि तत्काल ट्राभल डकुमेन्ट उपलब्ध गराइएको जानकारी रायले दिए । उनका अनुसार लेबनानमा अरू ४० नेपाली पनि घर फिर्ने क्रममा छन् । उनीहरूको घरफिर्ती प्रक्रिया पूरा गर्न एक महिना लाग्नेछ ।बढीमा ५ वर्षदेखि लेबनान बस्दै आएका उनीहरूमध्ये अधिकांश घरेलु कामदार महिला छन्् । उद्धार समन्वयपछि दुई सातायता यी नेपाली बेरुतस्थित कारितास संस्थाको सेल्टर हाउसमा थिए । बेरुतस्थित गैरआवासीय नेपाली प्रतिनिधि डिल्ली पौडेलका अनुसार लेबनानमा झन्डै ८ हजार नेपाली छन् । तिनमा अधिकांश घरेलु कामदार महिला छन्् । यीमध्ये करिब ७ सय जना कागजातविहीन भएको अनुमान पौडेलको छ । नेपाल सरकारले लेबनानलाई प्रतिबन्धित रोजगार गन्तव्य भनेर सूचीकृत गरेको छ । तर भारतको बाटो हुँदै अनधिकृत तवरबाट बेरुत जाने क्रम रोकिएको छैन ।
नेपाल सरकारले लेबनानमा अवैतनिक दूतका रूपमा जोइसा खुरीलाई नियुक्त गरेको छ । उनले बिचल्लीमा परेका र उद्धार चाहने नेपालीका लागि सहयोग-समन्वय जुटाउन नसकेको जानकारी पाएपछि परराष्ट्रले रायलाई बेरुत पठाएको हो ।

प्रतिक्रियाहरु