लेकसाइड क्षेत्रमा सवारी निषेध गर्न माग

२०७४ मंसिर १ गते, शुक्रबार

काठमाडौं, १ मंसिर । पर्यटकीय केन्द्र लेकसाइडलाई सवारी साधनमुक्त क्षेत्र बनाउन व्यवसायीले माग गरेका छन् । काठमाडौंको ठमेलमा गरिएको गाडी आउजाउ निषेध असफल हुन लाग्दा यहाँका व्यवसायी भने भेहिकल फ्री जोनको पक्षमा देखिएका छन् । फेवाताल किनारका बाराही घाट, हल्लनचोक लगायत ठाउँमा अव्यवस्थित पार्किङ र ट्राफिक जाम बढ्दा पर्यटक ध्वनि र वायु प्रदूषणको सिकार बनेको व्यवसायी बताउँछन् । पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्मा भन्छन्, ‘गाडी यति धेरै हुन्छन् कि कोही पनि आनन्दले हेर्न डुल्न नसक्ने भइसक्यो, पर्यटकीय ठाउँमा यो सुहाउँदो होइन ।’ पहिलो चरणमा लेकसाइडका मुख्य ठाउँ हल्लनचोकदेखि बाराही घाटसम्म सवारीसाधनमुक्त क्षेत्र गर्नुपर्ने परिषदका अध्यक्ष शर्माले बताए । बैदामको लेकसाइडमा धेरै सहायक बाटोहरु भएकाले मूल सडकमा गाडीको आउजाउ निषेध गर्न खास कठिन नपर्ने शर्माको तर्क छ ।
२४ सै घन्टा त्यस्तो प्रतिबन्ध लगाउनुपर्ने पनि उनीहरुको माग होइन । निश्चित समय तोकेर रोक्न सकिने व्यवसायीको भनाइ छ । ‘बिहान १० देखि बेलुका १० बजेसम्म लेकसाइडलाई सवारीसाधनमुक्त क्षेत्र बनाउन सकिन्छ’, शर्माले भने । लेकसाइड सडकमा गुड्ने र पार्किङ गरिएका गाडीको भीडभाडले पर्यटकीयस्थल भन्नै नसुहाउने भइसकेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले सुनाए । ‘पोखरा शान्त र सफा छ भनेर घुम्न आएका पर्यटक कोलाहलको सिकार भइरहेका छन्’, उनले भने । दूध, पानी, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक बाहेकका सवारी साधनलाई समय तोकेरै पर्यटकको चहलपहल बढी हुने समयमा रोक लगाउन सके पर्यटकले शान्तिका साथ घुम्न पाउने संघका अध्यक्ष तुलाचनले बताए ।
लेकसाइडमा ५ वर्षअघि नै यही अवधारण अनुसार हप्ताको एक दिन शनिबार भेहिकल फ्री जोनको भएको थियो । त्यस्तो गर्नुपर्ने आवश्यकता त्यसबेलाभन्दा अहिले झन् बढी टड्कारो भएको रेष्टुरेण्ट एण्ड बार एसोसियसन अफ नेपाल (रेबान) पोखराका पूर्व अध्यक्षले गोपी भट्राईले बताए ।
‘विदेशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा पनि यो अभ्यास हुने भएकाले पर्यटकलाई शान्त वातावरणमा हिँडडुल गर्न सवारीसाधनमुक्त क्षेत्र हुनुपर्छ’, उनले भने । सवारी साधन र पर्यटकको चाप निकै बढेकाले लेकसाइडको निश्चित क्षेत्रलाई सवारी साधनमुक्त क्षेत्रको रुपमा जानु पर्ने अवस्था देखिएको पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगतबहादुर पहारीले बताए ।
सवारी पार्किङ स्थलको अभावमा लेकसाइडका मुख्य क्षेत्र पार्किङ स्थलको रुपमा परिणत भएको बताउँदै अध्यक्ष पहारीले पार्किङका लागि उपयुक्त जमिनको खोजी भइरहेको सुनाए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तारानाथ अधिकारीले लेकसाइडलाई सवारीसाधनमुक्त क्षेत्रको रुपमा विकास गर्न माथिल्लो निकायबाट निर्देशन नआएको बताए । महानगरपालिका, स्थानीय बासिन्दा, पर्यटन व्यवसायी र सरोकारवालाबीच छलफल भएर सवारी साधनमुक्त क्षेत्रको रुपमा विकास गर्ने निणर्य भएमा जिल्ला प्रशासन कार्यालय यसको कार्यान्वयन गर्न तयार रहेको कास्कीका सीडीओ अधिकारीले बताए ।

प्रतिक्रियाहरु