लुम्बिनीमा १४ किमि लामो ग्रेटवाल बनाइने

२०७१ चैत्र ९ गते, सोमबार

काठमाडौँ । लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि गुरु योजनाअन्तर्गत १४ किलोमिटर लामो सुरक्षा पर्खाल परिवर्तन गरी ग्रेटवाल बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ। कोषका सदस्यसचिव अजितमान तामाङका अनुसार ग्रेटवाल संसारका सात आश्चर्यमध्ये गणना हुने चीनको ग्रेटवालजस्तै भव्य र विशाल हुनेछ। कोषको हालैको बोर्ड बैठकले ग्रेटवाल बनाउने निर्णय गरेको हो। कोषले योजना स्वीकृतिका लागि आइतबार पर्यटन तथा संस्कृति मन्त्रालयमा पेस गरेको छ। कोषले करिब ६ अर्ब रुपैयाँमा निर्माण हुने अनुमान गरेको उक्त योजना आर्थिक वर्ष २०७२/७३ को बजेटमा समावेश गर्न सरकारसँग माग गरेको छ। अर्थ मन्त्रालयले पूर्वबजेट योजना तथा सुझाव संकलन अभियान चलाइरहेका बेला कोषले उक्त योजना पेस गरेको हो।
ग्रेटवालको भित्तामा बुद्धको जीवनीसँग सम्बन्धित र बुद्ध धर्मको प्रचारप्रसारमा योगदान गर्ने बौद्ध विद्वान्, भिक्षु, विश्वविद्यालय आदिका चित्र कुँदेर राखिने र माथिल्लो तलाबाट पर्यटकले अवलोकन गर्नसक्ने व्यवस्था मिलाउने योजना प्रस्ताव गरिएको छ। लुम्बिनीमा पर्यटकको आकर्षण र बसाइ अवधि लम्बाउन यो योजना कोसेढुंगा साबित हुने दाबी सदस्यसचिव तामाङको छ। उनी भन्छन्, ‘अहिले लुम्बिनीमा पर्यटक सरदर २४ मिनेट बस्छन्, ग्रेटवाल बनेपछि ७२ घन्टा बस्नेछन्।’सदस्यसचिव तामाङका अनुसार लुम्बिनी विश्वसम्पदामा सूचीकृत भए पनि ग्रेटवाल निर्माणमा त्यसले बाधा पर्दैन। संयुक्त राष्ट्रसंघको शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले मायादेवी मन्दिरभित्र तारबारले संरक्षण गरिएको बुद्ध जन्मस्थल अर्थात् मार्कर स्टोन क्षेत्र मात्र विश्वसम्पदा सूचीमा सूचीकृत गरेको र समग्र गुरुयोजनाको संरक्षित क्षेत्र विश्व सम्पदामा नपर्ने भएकाले ग्रेटवाल निर्माणमा युनेस्कोले अवरोध नगर्ने ठहर गरी योजना अगाडि बढाइएको उनले बताए।
ग्रेटवालसम्बन्धी बोधीग्राम प्रालिले तयार पारेको आसयपत्र कोषको बोर्ड बैठकले स्वीकृत गरी विस्तृत परियोजना प्रतिवेदन बनाउने निर्णय गरेको हो। तामाङका अनुसार पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठसमेत आमन्त्रित बोर्ड बैठकले उक्त निर्णय गरेको हो। कोषले मुद्रा संग्रहालय निर्माण, सुरक्षा, सरसफाइ, विद्युतीकरण, सूचना प्रविधि, खानेपानी, जग्गा संरक्षण, भवन निर्माण कार्यक्रमका लागि अर्को ६ अर्ब रुपैयाँको योजना पनि पेस गरेको छ।मुद्रा संग्रहालयको काम सुरु भइसकेको छ। लुम्बिनीमा संग्रहालय अभावमा विभिन्न ९१ देशका सिक्का र नोट बोरामा राखिएको छ। ती सिक्का सुरक्षा निकायको रोहवरमा हालै गणना गरी राष्ट्रबैंकलाई विवरण बुझाइएको छ। भियतनाम र कम्बोडियाका मुद्रा एकलाख भन्दा बढी छन्। कोषले भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडक स्तरोन्नति गरी चार लेन बनाउन र कपिलवस्तुको चाकर चौडा नाकामा अध्यागमन कार्यालय स्थापना गर्न पनि सरकारसँग प्रस्ताव गरेको छ।
त्यस्तै कोषले उथान्त अन्तर्राष्ट्रिय सभाहल र अन्तर्राष्ट्रिय केन्द्र निर्माताले आयात गर्ने सामानमा कर छुट दिन, ४० वर्ष पुरानो लुम्बिनी विकास गुरु योजना संशोधन गर्न, पर्यटकलाई प्रवेशाज्ञा दिनुपूर्व बसाइ अवधि, होटेल बुक र बैंक बचत विवरण माग्ने व्यवस्था मिलाउन पनि माग गरेको छ।

प्रतिक्रियाहरु