लुम्बिनीमा जनजागरण तथा प्रतिरोध अभियान तीव्र

२०७४ बैशाख ४ गते, सोमबार

काठमाडौं , ३ बैशाख । नेपाल कम्युनिष्ट पार्टीले ‘एकिकृत जनजागरण तथा प्रतिरोध अभियान’ तीव्र पारेको छ । आउँदै गरेको स्थानिय चुनावको खारेजीको माग गरेको नेकपाले चुनाव प्रतिरोध तथा जनताहरुमा जागरण गराउने उद्देश्यले ३ महिने अभियान अन्तर्गत गत चैत २४ गतेदेखी आगामी असार ५ सम्म यो अभियान सञ्चालन गरेको हो । यता लुम्बिनी व्यूरोले पनि आफ्नो मातहतका जिल्लामा अभियानलाई तीव्रता दिएको छ । संसदीय व्यवस्थाको खारेजीको माग राख्दै आएको नेकपाले यो व्यवस्थाले गर्ने कुनै पनि चुनावमा सहभागी नभई व्यवस्था नै परिवर्तन गर्ने र वैज्ञानिक समाजवाद स्थापना गर्ने ध्येयका साथ जनतालाई जागरण गराउन यो अभियान संचालन गरेको व्यूरो ईन्चार्ज विरजंगले जानकारी दिए । सरकारले घोषणा गरेअनुसार आगामी बैशाख ३१ मा स्थानिय तहको चुनाव गराउने सरकारको तयारीजस्तै चुनाव खारेज गर्ने प्रक्रियामा चुनावको विपक्षमा रहेका दलहरुले समेत तयारी गरेका छन् । स्थायिन चुनावभने तोकिएकै मितिमा हुने नहुनेमा अझै पनि निश्चित भैसकेको छैन, केही संसदवादी दलहरुकै किचलोको कारणले चुनाव अन्योलमा भैरहेको बेला नेकपाले चलाएको अभियान भने तिव्रतामा अगाडी बढिरहेको छ ।
जनताहरुलाई सांस्कृतिक माध्यमबाट जागरण गराउने उद्देश्यसाथ नेपाल कम्युनिष्ट पार्टीको मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गतको क्षितीज सांस्कृतिक परिवारले आफ्नो सांस्कृतिक प्रस्तुतीमार्फत चुनाव खारेजी तथा संसदीय व्यवस्थाको विकल्प समाजवादको रुपमा प्रस्तुत गरिरहेको छ । चैत २४ गते नवलपरासीको गैडाकोटस्थित अमरापुरीमा उद्घाटन भएको अभियान चैत २५ गते देवचुली, चैत २६ गते कावासोतीको गोडार, शेरगन्जमा, २७ गते मध्यविन्दुको सेतापानी, २८ गते भंणारा, २९ गते बसन्तपुर देउरालीमा त्यस्तै ३० गते बेनिमणीपुरको सर्दी बगैचाँमा, ३१ गते बर्दघाटको बाढीपीडितमा, बैशाख १ गते रामनगरको जर्गाहामा, बैशाख २ गते बन्जरियाको पम्पापुर लगायतमा झण्डै ५ हजार जनताको अगाडी सांस्कृतिक टोलिले जनवादी सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको नवलपरासीका जिल्ला ईन्चार्ज जुझारुले बताए । जनवादी क्रान्तिकारी गित तथा नृत्यबाट जनतालाई सुुसुचित गर्न सहज भएको र जनतामा फेरी कम्युनिष्ट पार्टी जनताको पार्टी भएको अनुभूत दिलाउन अभियान सफल भएको अभियानमा सांस्कृतिक टोलिको नेतृत्व गरेकी ममताले बताईन । जिल्लामा सांस्कृतिक टोलिको अभियानलाई ३ गते विदाई गर्दै नवलपरासीका जिल्ला सेक्रेटरी मंगलसेनले अभियानलाई जिल्लाले भने निरन्तरता दिने र चुनावसम्म जादा जनतालाई यथार्थ बताउने र जनताले नै चुनावलाई खारेज गर्ने बताए । नवलपरासीको सुनवलबाट विदाई भएको सांस्कृतिक सहित अभियानको टोलीले भने रुपन्देहीको देवदह खैरेनीमा आफ्नो प्रस्तुती देखाईसकेको छ भने रुपन्देहीमा पनि झण्डै एक दर्जनभन्दा धेरै ठाउँमा कोणसभा तथा अभियानको सांस्कृतिक कार्यक्रम रहेन जिल्ला ईन्चार्ज सरद ओलीले बताए । अभियानमा ६ जिल्लाका जिल्लास्तरका नेता, सांस्कृतिक टोली तथा सम्बन्धित जिल्ला कमिटिसहित झण्डै ५ दर्जन नेता कार्यकर्ताको सहभागी रहेको छ । -शिव डुम्रे

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु