लुटपाटको आर्जनले घडेरी र व्यवसाय !

२०७६ श्रावण ३० गते, बिहीबार

काठमाडौँ, ३० साउन । चोरी, डकैती र लुटपाटजन्य अपराधबाट सङ्कलित रकमले राजधानी काठमाडौँमा घरजग्गा खरिद तथा व्यापार व्यवसाय सञ्चालन गरेको पाइएको छ । प्रहरीका अनुसार सिक्री लुटपाटमा आरोपित ओखलढुङ्गा हर्कपुर गाउँपालिका घर भई हाल बूढानीलकण्ठ बस्दै आएका अभियुक्त ३९ वर्षीय टमबहादुर सुनुवारले टोखामा ‘तिर्थ–सपना’ नामको दुग्ध डेरी व्यवसाय गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार टमबहादुरले सडकमा सिक्री लगाएको एक्लोदोक्लो महिला देख्नेबित्तिकै मोटरसाइकल प्रयोग गरी लुट्ने कार्यलाई आयआर्जनको मुख्य पेसा बनाउँदै आएको प्रहरीको आरोप छ । प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार सुनुवारका सहयोगी रामेछाप मजुवा घर भई हाल भैँसेपाटी बस्दै आएका टलकबहादुर रायमाझीले घडेरी ९जग्गा० खरिद गरेका छन् । सिक्री लुटपाट मुद्दामा पक्राउ परी तीन÷तीन वर्ष जेल सजाय भुक्तान गरी छुटेका अभियुक्तद्वय टमबहादुर र टलकबहादुरले हालसम्म १५ जना महिलाको करिब २० तोला सिक्री लुटेको बयान प्रहरीलाई दिएका हुन् । एक पीडित महिलाले दिएको घटना विवरणका आधारमा प्रहरीले गत २४ गते लुटपाटमा प्रयोग भएको मोटरसाइकल नम्बरको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको बयानका आधारमा भारत पश्चिम बङ्गाल घर भई हाल बालकुमारीमा सुन पसल सञ्चालन गर्दै आएका देवासिस दोलाही पनि पक्राउ परेका छन् ।
अभियुक्तहरूले लुटपाट गरेको सिक्री सुन व्यापारी देवासिसलाई बिक्री गर्दै आएका थिए । यसरी लुटपाटको सिक्री बिक्री गरेबापत प्राप्त भएको रकमले दुग्ध डेरी र घडेरी जोडेको जानकारी प्रहरीले दिएको छ । अभियुक्त टमबहादुरको कोठाबाट दुई लाख ५० हजार नगद, मोटरसाइकल, सुनका गरगहना, सुन जोख्ने तराजु, पाँचथान मोबाइल बरामद गरेको छ ।- गोरखापत्र दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु