लालीगुराँस महोत्सव सुरु

२०७० चैत्र ३० गते, आईतवार


काठमाडौँ , ३० चैत । बागलुङको पर्यटकीय सम्भावनाको क्षेत्र घुम्टेको लेकमा आजदेखि प्रथम घुम्टे लालीगुराँस महोत्सव सुरु भएको छ । पर्यटन प्रवद्र्धनसँगै राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा भएको महोत्सव आज र भोलि गरी दुई दिनसम्म चल्नेछ ।
गुराँस फुल्ने याममा महोत्सव गर्न लागिएकाले पर्यटक आगमनमा पनि वृद्धि हुने विश्वास लिइएको केन्द्रका अध्यक्ष झम्कबहादुर बस्नेतले बताए ।
केन्द्रले यो वर्षलाई घुम्टे अध्ययन भ्रमण वर्षका रुपमा मनाइरहेको छ । भ्रमणवर्षकै अवसर पारेर गुराँस महोत्सव आयोजना गरिएको बस्नेतले बताए ।
समुन्द्री सतहदेखि १० हजार ३९३ फिटको उचाइमा रहेको घुम्टेको धुरीमा आयोजित महोत्सवमा विभिन्न कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ । महोत्सवका अवसरमा आयोजित ऐतिहासिक गलकोट दरवारदेखि घुम्टेको धुरीसम्मको पर्यटन दौड प्रतियोगिता गरियो । दौड संगै महोत्सवका अन्य कार्यक्रमहरु पनि सुरु भएको गलकोट घुम्टे पर्यटन बिकास केन्द्रका सचिव राजबहादुर थापाले बताए ।
गलकोटको प्रसिद्ध घाटुनाच, सालैजो, नानीलै, घुम्टै साइला, बिना सालैजो, यानीमाया, झाम्रे गीत र दोहोरी गीतको समेत प्रस्तुती रहने महोत्सवका मुल संयोजक छमबहादुर घर्तीले बताए । महोत्सवमा पर्यटन मन्त्रालयका पदाधिकारी, संविधान सभाका सभासद, स्थानीय राजनीतिक दलका प्रमुख, संघसंस्थाका प्रमुख, सामाजिक अगुवा, पत्रकार, कवि र सर्वसाधारणको सहभागिता रहेको छ । पर्यटकीय महत्व बोकेको घुम्टे प्राकृतिक, धार्मिक, साँस्कृतिक र जैविक विविधताले भरिपूर्ण रहेको क्षेत्र हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार