लाङटाङ राष्ट्रिय निकुञ्जमा ‘रियल टाइम स्मार्ट पेट्रोल’ प्रविधि

२०७४ चैत्र १९ गते, सोमबार

काठमाडौं, १९ चैत । निकुञ्ज क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र गस्ती टोलीलाई प्रभावकारी रुपमा परिचालन गर्न लाङटाङ राष्ट्रिय निकुञ्जमा ‘रियल टाइम स्मार्ट पेट्रोल’ प्रविधि सुरु गरिएको छ । वनजन्य अवैध ओसारपसार नियन्त्रण र दुर्लभ वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्न महाहन्ट अप्रेसनमा यो प्रविधिले थप सहयोग गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए । गस्ती टोलीले फिल्डमा देखेका कुरा तत्काल केन्द्रसम्म पुर्‍याउन यो प्रविधिको सुरुवात गरिएको रेग्मीले जानकारी दिए । यो प्रविधिले गस्ती टोली परिचालित भए÷नभएको, गस्ती टोलीले पार गरेको दूरी, समय, गस्ती गएको क्षेत्रको अबस्थाबारे कार्यालयमा बसेर जानकारी लिन सकिने निकुञ्जले जनाएको छ ।
प्रविधि सञ्चालनका लागि मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले आर्थिक सहयोग गरेको छ । हिमाली निकुञ्जका उच्च स्थानमा पुगी सेनाले महाहन्ट अप्रेसनअन्तर्गत विशेष सुरक्षाफौजले अप्रेसनमा घुम्ती गस्ती, स्वीपिङ तथा क्यापिङ अप्रेसन, एम्बुस, आकस्मिक खानतलासीलगायतका काम गरिरहेको छ ।
२०३२ साल चैत ९ गते स्थापना गरिएका हिमाली राष्ट्रिय निकुञ्जले रसुवाको ५७ प्रतिशत, नुवाकोटको ७ प्रतिशत र सिन्धुपाल्चोकको ३६ प्रतिशत क्षेत्रफल ओगटेको छ ।

प्रतिक्रियाहरु