‘लकडाउन जनताका लागि सङ्कटकाल, मुट्ठीभर जनविरोधी तत्वहरूका लागि मालामाल’

२०७७ जेष्ठ १५ गते, बिहीबार

काठमाडौँ, १५ जेठ । नेपाल कम्युनिस्ट पार्टीले लकडाउन श्रमजीवी जनताका लागि सङ्कटकाल र मुट्ठीभर जनविरोधी तत्वहरूका लागि मालामाल भएको बताएको छ । नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरो इन्चार्ज रविले बुधबार प्रेस वक्तव्य जारी गर्दै सङ्कटको घडीमा राष्ट्र र जनताको चह¥याइरहेको घाउमा नुनचुक छर्ने राष्ट्रघाती र जनविरोधी तत्वहरूलाई खबरदारी गरेका छन् ।
कोरोनाका कारण चारजनाले ज्यान गुमाइसकेको, ७ सयभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको, हजाराैँ नागरिकले अव्यवस्थित क्वारेन्टाइन र आइसोलेसनमा चुनौतीहरूको सामना गर्दै भाइरसविरुद्ध सङ्घर्ष गरिरहेको वक्तव्यमा स्मरण गराइएको छ ।
वक्तव्यमा कोरोना भाइरसको परीक्षणको विस्तार, औषधीउपकरणलाई सर्वसुलभ र गुणस्तरीय बनाउँदै कछुवा गतिमा नभएर युद्धस्तरमा सम्पूर्ण कार्य सञ्चालन गर्न सम्बन्धित पक्षसँग जोडदार अपिल पनि गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइनको व्यवस्था नभएको, स्वास्थ्यकर्मी, औषधीउपकरणको आवश्यक व्यवस्था नभएको, खानपिनको आभारभूत व्यवस्थामा पनि समस्या रहेको अवस्थालाई शीघ्रतापूर्वक हल गर्न गम्भीर ध्यानाकर्षण गर्दै क्वारेन्टाइनबाट भाग्ने अवस्था उत्पन्न हुन नदिन आग्रह गरिएको छ ।
वक्तव्यमा बन्दाबन्दीको समयमा कमिसनको खेल चलिरहेको, पावर र पैसा नहुने सङ्कटमा परेको भन्दै यस्तो प्रवृत्तिलाई निरुत्साहित गरी अति आवश्यक कामका लागि बिनापूर्वाग्रह सहज वातावरण बनाउँदै लैजानुपर्नेमा जोड दिइएको छ ।
वक्तव्यमा आवश्यक औषधिउपकरण खरिदमा भइरहेको कमिसन र कालोबजारीलाई कडाइका साथ रोक्न माग गर्दै हालको सङ्कटमा कतिपय निजी अस्पतालमा देखिएको गैरजिम्मेवारीपन दण्डनीय भएको र उपयुक्त कारबाही गर्नु अनिवार्य भएको जनाइएको छ ।
वक्तव्यमा भनिएको छ, ‘लामो बन्दाबन्दीले नागरिकहरूमा रोग र भोक दुवैले मर्ने भइयो भन्ने तनाव र चिन्ता बढिरहेको छ । प्रचारशैली बढी र राहत वितरणमा निकै अभाव देखिन्छ । राहतमा कमिसनको खेल पनि चलिरहेको छ । पूर्वाग्रहहरू र भेदभाव बढिरहको छ । अनियमितता रोक्न जनस्तरबाटै प्रभावकारी कदम उठाउनुपर्छ ।’
पार्टीले दैनिक उपभोग्य वस्तुहरूमा भइरहेको मूल्यवृद्धि, कालोबजारीलाई रोक्न उचित अनुगमन र कारबाहीका लागि विशेष पहल गर्ने जनाएको छ ।
यस्तै विभिन्न क्षेत्रबाट अवैध ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र निकासी पैठारी भइरहेको, बनजङ्गल अतिक्रमण, काठको चोरी निकासी बढेको जनगुनासो बढेको भन्दै पार्टीले माफिया, दलाल र तस्करहरूलाई जनसहभागितासहित सशक्त कारबाही गर्ने चेतावनी दिइएको छ ।
पार्टीले वक्तव्यमा बन्दाबन्दीको मौका छोप्दै सामाजिक विकृति एवम् अवैध धन्धा मौलाइरहेको, लागूपदार्थ ओसारपसार, यौनधन्धा, जाँडरक्सी बेचबिखन, महिला हिंसा, बलात्कार, जातीय भेदभाव, चोरी डकैती बढेकोमा चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि उपयुक्त सङ्घर्षको विधि अवलम्बन गरिने जनाएको छ ।
वक्तव्यको अन्त्यमा होम क्वारेन्टाइनमा बसिरहेको र औषधीउपचार गराइरहेको अवस्थामा दलाल सत्ताद्वारा पार्टीमाथि निगरानी गर्नु, नेता–कार्यकर्ता गिरफ्तार गर्नु, बन्दीहरूलाई भेटघाट गर्न नदिनु, चरम यातना दिनु आदि दमन शैलीको पार्टी घोर भत्र्सना एवम् निन्दा गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु