‘रोहिंग्या मुसलमान अतिवादी हुन ‘

२०७४ आश्विन २ गते, सोमबार

काठमाडौं, २ असोज । म्यानमारको सेनाका एक उच्च अधिकारीले रोहिंग्याकै कारण अहिलेको समस्या आएको आरोप लगाएका छन् । पछिल्लो पटक भड्किएको द्वन्द्वका कारण म्यानमारका हजारौं रोहिंग्या मुसलमान विस्थापित भइरहेको अवस्थामा म्यानमारको सेनाका जनरल मिन आङ हलाङ्गले उनीहरुकै कारण समस्या उत्पन्न भएको आरोप लगाएका हुन् । उनले रोहिंग्या कहिल्यै पनि जातीय समूह नरहेको बताए । हलाङ्गले रोहिंग्या अतिवादी रहेको र रखाइन राज्यमा आफ्नो पकड स्थापित गर्न खोजेको आरोप पनि लगाए । झन्डै एक महिनादेखि म्यानमारको उत्तरी रखाइन राज्यमा बुद्धिस्ट र रोहिंग्या मुसलमानबीच हिंसा भड्किंदा झन्डै चार लाखको हाराहारीमा रोहिंग्या मुसलमान बंगलादेशमा विस्थापित भएका छन् । सेनाले रोहिंग्या मुलसमानमाथि ज्यादति गरेको आरोप लागेको छ । तर जनरल मिनले भने रोहिंग्याकै कारण समस्या उत्पन्न भएको बताएका हुन् ।
संयुक्त राष्ट्र संघले भने रोहिंग्यामाथि म्यानमार सरकारले ज्यादती गरेको आरोप लगाएको छ । राष्ट्र संघले रोहिंग्यामाथि भइरहेको ज्यादतिप्रति नेतृ आङ साङ सुकीको ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न अन्तिम मौकासहितको चेतावनी दिएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु