रोकिएन शालिग्राम चोरी

२०७१ भाद्र १६ गते, सोमबार


काठमाडाै, १६ भदौ । विश्वमै अत्यन्त दुर्लभ मानिएको बहुमूल्य धार्मिक शिला शालिग्राम चोरी शिकारीको कारण कालीगण्डकी नदीबाट लोप हुने अवस्थामा पुगेको छ ।संसारभरि अन्त कतै नपाइने तर कालीगण्डकी नदीको कागबेनीदेखि रिडी (गुल्मी)सम्मको खण्डमा मात्रै पाइने दुर्लभ शिला शालिग्राम म्याग्दीको गलेश्वरदेखि मुस्ताङको कागबेनीसम्मको भागबाट व्यापकरुपमा चोरी निकासी हुने गरेको छ ।
तीन वर्षअघि म्याग्दीका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले शालिग्रामको चोरी–निकासी नियन्त्रण गर्न शालिग्राम संरक्षण अभियानका लागि समिति बनाएको भए पनि अहिले त्यो समिति निष्क्रिय अवस्थामा रहेको छ ।
गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादु्र केसीको अगुवाइमा २०६८ सालमा शालिग्राम संरक्षणका लागि पहल भएको थियो । त्यतिबेला भारतीय मूलका तीन व्यक्तिले शालिग्राम चोरी–निकासी गर्ने गरिएको भेटिएको थियो ।
अहिले पनि यस कार्यमा भारतीय मूलका व्यक्ति नै सक्रिय रहेको गलेश्वर शिवालयका मूल पुजारी यामप्रसाद आचार्यले बताए । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा भने यस विषयमा कुनै उजुरी नपरेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बए ।
हिन्दु धर्मावलम्बीले शालिग्रामलाई भगवान् विष्णुको अंश मानी पूजा गर्ने गर्दछन् । शालिग्रामलाई विभिन्न मन्दिर वा घरमा राखेर पूजा गर्ने गरिन्छ । शालिग्रामको जलमा तुलसीपत्ता मिसाएर खाने हो भने मनोविकास र पेटसम्बन्धी सम्पूर्ण रोग निको हुने आयुर्वेदिक उपचार पद्धतिमा उल्लेख गरिएको छ । साथै शालिग्रामभित्र सुन हुने भएकाले पनि यसको व्यापक मात्रामा चोरी–निकासी हुने गरेको शालिग्राम शिलाका अध्येता पं रङ्गराज शास्त्रीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु