रियल लाइफका ‘स्पाइडर म्यान’ जसले केही सेकेन्डमै चार तले घरमा चढेर बच्चाको उद्धार गरे

२०७५ जेष्ठ १६ गते, बुधबार

काठमाडौं, १६ जेठ । हलिउड चलचित्र ‘स्पाइडर म्यान’ को शृंखला धेरैले हेरेको हुनु पर्छ । सोही चलचित्रका नायकले ‘रिल लाइफ’ मा निर्वाह गरेकै भूमिकाको शैलीमा फ्रान्समा एक आप्रपासीले ‘रियल लाइफ’ मै स्पाइडर म्यानले जस्तै चार वर्षीय एक बालकको उद्धार गरेका छन् ।
पश्चिम अफ्रिकी मुलुक मालीबाट फ्रान्स आएका एक प्रवासीले चमत्कारिक शैलीमा बालकको उद्धार गरेका हुन् । ममोउदोउ गास्सामा नाम गरेका ती प्रवासीले पेरिसको एक घरको चौथो तलाको बाहिरपट्टी झुन्डिएका बालकलाई उद्धार गरेका हुन् ।
उक्त घरको बाहिरि भागबाटै उनी चौथो तलासम्म पुगेका थिए । केही सेकेन्डमै उनी जमिनबाट चौथो तलामा पुगेर बालकलाई उद्धार गर्दा सयौं मानिस दर्शकका रुपमा उभिएका थिए । उनी उक्त भवनमा चढेको र बालकलाई उद्धार गरेको दृष्य सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनलाई पेरिसमा ‘रियल लाइफ’ कै हिरोका रुपमा व्याख्या गरिदैंछ । सो घटनाको सर्वत्र चर्चा भएलगत्तै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले २२ वर्षीय गास्सामासँग भेट गरेका छन् । राष्ट्रपति निवासमै बोलाएर उनले गास्सामासँग भेट गर्दै उनको साहसिक कार्यको प्रशंसा गरे ।
पेरिसका मेयर एन हिडाल्गोले पनि गास्सामाको कार्यको प्रशंसा गर्दै उनलाई ‘स्पाइडर म्यान’ को संज्ञा दिएका छन् । हिडाल्गोले ट्वीट गर्दै भनेका छन्, ‘मलाई गास्सामाले भनेअनुसार उनी केही महिनाअघि आफ्नो जीवनको सपना पुरा गर्न पेरिस आएका हुन् । मैले उनलाई उनको सपना पुरा गर्न हर प्रकारको सहयोग गर्न तयार रहेको बताएको छु ।’ समाचार एजेन्सीहरुका अनुसार गास्सामालाई फ्रान्सको नागरिकता दिने प्रक्रिया सुरु गरिएको छ । शनिबार साँझ पेरिसको एक सडकमा गास्सामा हिँडिरहेका थिए । यत्तिकैमा उनको ध्यान भिडतर्फ केन्द्रीत भयो । ले पारिसियन अखबारका अनुसार गास्सामाले भने, ‘एउटा बच्चाको ज्यान खतरामा देखेँ, मानिसहरु हेरिरहेका थिए, म भवनमा चढ्न थालेँ, भगवानको कृपाले गर्दा मैले उसलाई बचाउन सफल भएँ ।’ बच्चा उक्त घरको कौसीबाट झुण्डिएको समयमा अभिभावकहरु घरमा नरहेको स्थानीय संचारमाध्यमले जनाएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु