राष्ट्र सङ्घ महासभाको चहलपहल सुरु

२०७१ आश्विन ६ गते, सोमबार

न्युयोर्क, ६ असोज । संयुक्त राष्ट्र सङ्घको ६९ औं महासभाको प्रारम्भ सँगसँगै एक पटक फेरि विश्व समुदायको ध्यान सङ्घको मुख्यालय न्युयोर्कमा हुने छलफल र बहसतर्फ केन्द्रित हुन थालेको छ ।
महासभामा भाग लिन सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसहित प्रतिनिधिमण्डल आउने क्रम सुरु भइसकेको छ । नेपालका तर्फबाट महासभामा भाग लिन प्रधानमन्त्री कोइराला आज यहाँ आइसक्नु भएको छ ।
भ्याटिकन सिटी र प्यालेस्टाइन पर्यवेक्षक रहेको उक्त विश्व संस्थामा १९३ मुलुक सदस्य छन् । विश्वका कतिपय मुलुकमा देखिएको द्वन्द्व र त्यसलाई समाधान गर्न राष्ट्र सङ्घले खेल्दै आएको भूमिकाका बारेमा शक्ति राष्ट्र र साना मुलुकबाट आआफ्नो ढङ्गले सभामा दृष्टिकोण प्रस्तुत हुनेछ ।
विश्वमा शान्तिस्थापनाका लागि राष्ट्र सङ्घको भूमिकालाई अझ चुस्त, गतिशील र प्रभावकारी बनाउनुपर्नेमा खासगरी साना सदस्य राष्ट्रले आवाज उठाउँदै आएका छन् । साना मुलुकको हितका खातिर राष्ट्र सङ्घलाई बलियो बनाउनुपर्छ भनेर नेपाललगायत अल्पविकसित तथा साना राष्ट्रले महासभामा एकीकृत रुपमा कुरा उठाउँदै आएका छन् ।
जलवायु परिवर्तन, आतङ्कवाद नियन्त्रण, जनसङ्ख्या व्यवस्थापन र विकास तथा विभिन्न मुलुकमा भइरहेका द्वन्द्व समाधानका लागि आउँदा दिनमा चाल्नुपर्ने प्रयासका विषयले महासभा र त्यस अवसरमा हुने दुईपक्षीय भेटघाटमा प्राथमिकता पाउने छ । सभालाई विश्वसमुदायको समसामयिक विषयमा छलफल गरी समस्याको निकास खोज्ने साझा मञ्चका रुपमा लिने गरिन्छ ।
महासभामा भाग लिन आउने मुलुकका प्रतिनिधिमण्डलसहित सञ्चारकर्मी सभामा प्रवेशका
लागि प्रवेशपत्र लिन अहिले पङ्क्तिबद्ध भएर घन्टाँैसम्म बसेको मुख्यालय अगाडि देख्न पाइन्छ । महासभालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थालाई समेत न्युयोर्कमा थप कडाइ गरिएको छ ।
अहिले न्युयोर्कमा पर्यटकको चाप बढेर सुविधासम्पन्न प्रायः सबैजसो होटलका कोठा भरिभराउ छन् । वातावरणको हिसाबले पनि न्युयोर्कको मौसम अहिले अन्यन्त अनुकूल छ, न्यानो छ ।
विश्वविख्यात सञ्चारमाध्यम रोयटर्स, बिबिसी, सिएनएनलगायत सदस्य राष्ट्रका प्रमुख सञ्चारमाध्यमका प्रतिनिधि आआफ्ना उपकरणसहित मुख्यालयमा पुगेर महासभामा उठ्ने विषयवस्तु र द्विपक्षीय भेटवार्तासम्बन्धी समाचार सम्प्रेषण गर्ने कार्यमा जुटिसकेका छन् ।
महासभामा भाग लिन आउने सरकार तथा राष्ट्र प्रमुखका लागि राष्ट्र सङ्घका महासचिव र अमेरिकी राष्ट्रपति बाराक ओवामाले स्वागत समारोहको आयोजना गर्नु हुनेछ । प्रधानमन्त्री कोइरालाले महासभालाई यही असोज १० गते सम्बोधन गर्ने कार्यक्रम छ । महासभाको उच्चस्तरीय छलफल यही असोज ८ गतेदेखि सुरु भई असोज २१ गतेसम्म जारी हुने छ । असोज ७ गते भने प्रधानमन्त्री कोइरालाले ३५ साँै वक्ताका रुपमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ ।
महासभामा नेपालका तर्फबाट जलवायु परिवर्तन, जनसङ्ख्या व्यवस्थापन र विकास, सुरक्षा परिषद्मा सदस्य सङ्ख्या विस्तार, गरिबी निवारणलगायत अल्पविकसित तथा भूपरिवेष्ठित मुलुकसँग जोडिएका जल्दाबल्दा विषयमा कुरा उठाउने तयारी भइरहेको छ ।
महासभाका दौरानमा आयोजना हुने आदिवासी जनजातिसम्बन्धी विश्वसम्मेलन र जनसङ्ख्या तथा विकाससम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलनमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भाग लिनुहुने छ । नेपालले राष्ट्र सङ्घको सन् १९५५मा सदस्यता लिएपछि महासभामा निरन्तर सहभागिता जनाउँदै आएको छ । नेपालले सन् १९५८ देखि राष्ट्र सङ्घको शान्ति अभियानमा योगदान पु¥याउँदै आएको छ । नारायण न्यौपाने, रासस

प्रतिक्रियाहरु