राष्ट्र र राष्ट्रियताप्रति सजग होऔ

२०७२ श्रावण १० गते, आईतवार

संविधानसभामा भएका प्रमुख दल मानिएका नेपाली काँग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाको बलमिच्याइले देश र जनताको नाम भजाउँदै एक थान संविधान जारी गर्ने प्रपञ्च भइरहेको छ । चार दलको बलमिच्याइले जारी गर्न लागिएको संविधान आमस्वाभिमानी जनतालाई स्वीकार्य छैन भन्ने उनीहरुले जनतामाझ लगेको संविधानको प्रथम मस्यौदामा जनताले गरेको टिप्पणी नै काफी छ । यदि चार दलले जनताको ती टिप्पणी र सुझावलाई नमानी एक थान संविधान जारी गर्ने दुस्साहस गरे, त्यो राष्ट्र र राष्ट्रियताकै निम्ति खतरनाक हुने निश्चित छ । संविधान सबै जनताको हकअधिकारलाई सुनिश्चित गर्ने हुनुपर्छ । कुनै दल विशेष, वर्ग विशेष, जात र क्षेत्र विशेषको संविधानको कुनै औचित्य छैन । यस्तो संविधानले देशमा संकट निम्त्याउँछ, द्वन्द्व बढाउँछ, अनि राष्ट्र र राष्ट्रियतामाथि नै गम्भीर खतरा निम्तिन सक्छ । तसर्थ, सरकार र चार दलले संविधानको मस्यौदा जनतामाझ लाँदा जनताले जुन ढङ्गले त्यसको मस्यौदा नै अस्वीकार गरे, त्यस्तो संविधानको पछिलाग्नु र त्यही संविधानको मस्यौदामा दुईचार अक्षर यताउता गरेर जारी गर्न खोज्नु गम्भीर मूर्खता मात्र हुनेछ । आमजनताको जनभावना बुझी अब तत्काल यो संविधानको मस्यौदा खारेजी गरी नयाँ प्रक्रियामा जानुपर्छ । जुन प्रक्रियाबाट संविधान बनाइँदा राष्ट्र र राष्ट्रियतामा कुनै आँच नआओस् र संविधानमा आमजनताले आफ्नो हक र अधिकार सुनिश्चित भएको महसुस गर्न पाउन् । यसका निम्ति सबैभन्दा पहिले चार दलले ठगीखाने भाँडो बनाएको संविधानसभाको विघटन गर्नुपर्छ र सबै राजनीतिक दलहरुसहितको सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा आयोजना गर्नुपर्छ । र, त्यही राष्ट्रिय राजनीतिक सभाबाट अहिले सम्पूर्ण संकटको निकास र संविधानको विषयमा स्पष्ट खाका तयार गर्नुपर्छ । अन्यथा राष्ट्र र राष्ट्रियतामाथि गम्भीर संकट आइपर्ने निश्चित छ । राष्ट्र र राष्ट्रियतामाथि संकट आए आफ्नो दलगत स्वार्थ पूर्तिका निम्ति देश र जनतालाई घात गरी एक थान संविधान थमाउन खोज्ने राजनीतिक दलहरुको भविष्य पनि पक्कै सुन्दर हुन सक्दैन, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु