राष्ट्रिय हस्तकला औद्योगिक व्यापार मेला वैशाख २० देखि

२०७२ बैशाख ५ गते, शनिबार

काठमाडौँ । उद्योग व्यापार प्रवद्र्धन संस्थाले १२ बर्षे रातो मच्छिन्द्रनाथको रथयात्राको अवसर परेर ललितपुरको जावलाखेलस्थित पूmटबल मैदानमा राष्ट्रिय हस्तकला औद्योगिक व्यापार मेला गर्ने भएको छ । संस्थाले ‘नेपालको पहिचान हस्तकला र संस्कृतिको उत्थान’ भन्ने मुल नाराका साथ राष्ट्रिय हस्तकला औद्योगिक व्यापार मेला २०७२ ललितपुर उपमहानगरपालिका वडा नं ४ जावलाखेल स्थित पूmटबल मैदानमा आयोजना गर्न लागेको हो । उक्त मेला २०७२ वैशाख २० देखि वैशाख ३० गते सम्म ११ दिन चल्नेछ । मेला सञ्चालन गर्न संस्थाका अध्यक्ष कृष्णगोपाल प्रधानको अध्यक्षतामा ३१ सदस्यीय मेला मूल समिति गठन गरिएको छ । मेलालाई सभ्य र भव्य रुपमा सफल पार्न सल्लाह सुझाव लिनको लागि सल्लाहकार समिति तथा ९ वटा उपसमितिहरु गठन गरिएको छ । ललितपुर जिल्ला उपत्यकाको जैविक, सांस्कृतिक तथा विविधताको संरक्षण गरी समग्र आर्थिक एवं सामाजिक समुन्नतिमा संगठित रुपले प्रयत्नशील रहन यस जिल्ला एवं अन्य जिल्लाका युवाहरु रोजगारीको लागी विदेश पलायन हुनुपर्ने स्थितिमा स्वदेशमा नै विभिन्न सीपमुलक तालिमहरु लिई रोजगारी तथा व्यापार व्यवसाय गर्न मद्दत मिल्नेछ । उत्पादन गर्ने र उपभोग गर्नेहरुको मिलन बिन्दुको रुपमा मेला स्थल हुने बताइएको छ ।
मेलाले नगरपालिकाका पूmटपाथमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएकाहरुको समस्या पनि केही हदसम्म समाधान हुने विश्वास गरिएको छ । मेलामा प्लाष्टिकको झोला निषेध गरिने बताइएको छ जसबाट वातावरणको स्वच्छतामा सहयोग अपेक्षा गरिएको छ । साथै मेलामा धुम्रपान र मध्यपानमा रोक लगाइने भएको छ । यस मेलामा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था पनि गरिएको छ । मेलामा विभिन्न प्रकारका २०१ वटा स्टलहरु राखिने आयोजक संस्थाले जानकारी गराएको छ ।
मेलामा विभिन्न हस्तकलाका सामानहरुको प्रर्दशनी तथा बिक्री, विभिन्न उद्योगहरुबाट उत्पादित वस्तुहरुको प्रर्दशनी र बिक्री, फेन्सी कपडा, फर्निचर, विद्युतीय उपकरणहरु, शिक्षा ,कृषि, स्वास्थ्य, पर्यटन, जडिबुटी, श्रृङ्गार सामग्रीहरु, सूचना प्रविधि सञ्चार, बैंक तथा वित्तीय संस्था, छालाजन्य वस्तुबाट निर्मित सामानहरु, ऊनीबाट निर्मित वस्तुहरु, विभिन्न संघसंस्थाबाट निर्मित उत्पादित वस्तुहरुको प्रर्दशनी तथा विक्री गरिने छ ।

प्रतिक्रियाहरु