राष्ट्रिय मुक्ति आन्दोलनमा जुटौं

२०७७ जेष्ठ ४ गते, आईतवार

यतिबेला भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि कब्जा जमाएको छ । भारतले हालै लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने करिब २० किलोमिटर सडक निर्माण सम्पन्न गरी उद्घाटनसमेत गरेको छ । यसरी दिनदाहाडै नेपाली भूमि अतिक्रमण गरी भारतले एकलौटी ढङ्गले सडक बनाउनु कुनै पनि हालतमा सैह्य हुने विषय होइन । भारतको यस अतिक्रमणविरुद्ध अहिले सबै स्वाभिमानी जनता आक्रोशित भएका छन् र सडकमा उत्रन थालेका छन् । राष्ट्रियताको विषयलाई लिएर स्वतःस्फुर्त रुपमा सडकमा उत्रिएका जनतालाई सरकारले धरपकड गर्ने, गिरफ्तार गर्ने र यातना दिने काम गर्दै आएको छ । जुन ज्यादै निन्दनीय र लज्जाजनक विषय हो ।
राष्ट्र र जनताको रक्षा गर्नु सरकारको दायित्व हो । तर, यत्रो भारतीय हस्तक्षेप र अतिक्रमण हुँदासमेत सरकार कानमा तेल राखेर बसेकोे पाइयो । भारतीय अतिक्रमण तत्काल खारेज गर्दै आफ्नो भूमिको रक्षा गर्नुको साटो सरकार कूटनीतिक पहलबाट हल गर्ने भन्दै जनआक्रोशलाई शान्त पार्ने कोसिस गर्दैछ । भारतीय हस्तक्षेपलाई अझै मलजल गर्दैछ, जुन कुनै पनि स्वाभिमानी नेपाली जनताको लागि सैह्य हुनै सक्दैन ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टीले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय अतिक्रमणबाट मुक्त गराउन राष्ट्रिय मुक्ति आन्दोलनको उद्घोष गरेको छ । जुन साह्रै सह्रानीय विषय हो । यसर्थ, नेपाल कम्युनिस्ट पार्टीले चलाउने राष्ट्रिय मुक्ति आन्दोलनमा आमस्वाभिमानी नेपाली जनताले साथ र सहयोग गर्नुको विकल्प छैन । राष्ट्र नै नरहे हामी कसरी रहौँला । सबैले छातीमा हात राखेर सोचौँ ।

प्रतिक्रियाहरु