राष्ट्रिय परिचयपत्र छाप्न सुरु

२०७५ कार्तिक १५ गते, बिहीबार

काठमाडौं, १५ कात्तिक । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ सुरु गरेको छ । गृहसचिव प्रेम राईले बिहीबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको सुरुआत गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० ओटा परिचयपत्र छापेका हुन् । पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्नका लागि केन्द्रले छपाइ सुरुआत गरेको हो ।
सूचना अधिकारी जोशीले पहिलो चरणमा वैयक्तिक र जैविक विवरण संकलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छाप्ने जानकारी दिए । केन्द्रले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना रहेको जनाएको छ । अहिले सबैको व्यक्तिगत र जैविक विवरण संकलन नसकिएकाले २१ हजारकोमात्र पहिलो चरणमा र पछि अन्यको छापिने उनले बताए । सबै परिचयपत्र छापेर यही महिनाको मसान्तदेखि पाँचथरमा परिचयपत्र वितरणसमेत गरिनेछ ।
केन्द्रका कम्प्युटर इन्जिनियर ज्ञानेश्वर बोहराले प्राविधिक परीक्षण सकेर कम्पनीले यन्त्र उपलब्ध गराएपछि परिचयपत्रको छपाइ गरिएको बताए । उनकाअनुसार परिचयपत्रमा व्यक्तिको वैयक्तिक र जैविक विवरण हुनेछ । वैयक्तिक विवरणमा नाम, ठेगाना, बुबाआमा र बाजेको नाम, जन्ममिति, धर्म, जात, पेसा र शैक्षिक योग्यता रहनेछ भने जैविक विवरणमा फोटो, औंठाछाप र हस्ताक्षर हुनेछ ।
केन्द्रले अमेरिकामा बनेको अत्याधुनिक यन्त्र ‘डाटा कार्ड कम्पनी’बाट प्रतिघन्टा ५०० को दरले परिचयपत्र छाप्ने इन्जिनियर बोहराले जानकारी दिए । उक्त यन्त्र ‘आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटी’ कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्रका आधारमा ठेक्कामार्फत् करिब रु चार करोडमा उपलब्ध गराएको हो । उनकाअनुसार लेजर प्रविधिबाट कार्बन (पोली कार्बोनेट)लाई जलाएर परिचयपत्र छाप्ने गरिन्छ । उक्त प्रविधिलाई कसैले पनि चोर्न नसक्ने उनको भनाइ छ ।
परिचयपत्रमा एउटा कार्ड र यन्त्रले पढ्नसक्ने व्यक्तिको सबै विवरण भएको ‘विद्युतीय चिप्स’ रहेको हुन्छ । यन्त्रमा कार्ड हालेपछि विद्युतीय चिप्समा व्यक्तिको विवरण लेखिन्छ । त्यसपछि लेजरले उक्त विवरणलाई कार्बनमा जलाएर लेखेपछि यन्त्रबाट परिचयपत्र बाहिर निस्कने कम्प्युटर इन्जिनियर बोहराले जानकारी दिए । विद्युतीय चिप्सलाई सरकारको आधिकारिक निकायलेमात्र पढ्नसक्नेछ । यन्त्रले छापेर आएका परिचयपत्रलाई बिग्रेको भए अलग्लै राख्ने गर्छ । परिचयपत्र छापेपछि केन्द्रले गुणस्तर परीक्षण गरेरमात्र वितरण गर्छ । सरकारले नागरिकताको सट्टा व्यक्तिको सम्पूर्ण व्यक्तिगत विवरण समावेश गरिएको राष्ट्रिय परिचयपत्र ल्याउन थालेको हो । सरकारले २०६७ मा केन्द्र स्थापना गरे पनि २०७३ सालदेखि परिचयपत्रको काम सुरु भएको हो । यसै वर्ष थप १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्ने योजना छ । -रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार