राष्ट्रपति सी स्वदेश प्रस्थान

२०७६ आश्विन २६ गते, आईतवार

काठमाडौं , २६ असोज । दुई दिने नेपाल भ्रमण टुंग्याएर चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल र नेपाली जनताप्रति आभार व्यक्त गर्दै स्वदेश फर्केका छन । राष्ट्रपति सीको भ्रमणको दौरानमा बिभिन्न १७ सम्झौतामा हस्ताक्षर भएको छ । कुनै पनि चिनियाँ राष्ट्रपतिको उपस्थितिमा भएका सम्झौताहरु लागू हुने र पूर्ण गरिनु पर्ने चिनियाँ नीति र प्रावधान नै छ । यही कारण पनि राष्ट्रपति सीको उपस्थितिमा भएको सम्झौताले नेपालको विकासमा अहम भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
अपरान्ह करिब सवा २ बजे उनि स्वदेशका लागि विमानतर्फ गएका थिए । सीको विदाईमा सडकको दुबै किनारमा ठूलो संख्यामा नेपाली जनताको उपस्थिति रहेको थियो । बिभिन्न समुदायको झाँकीसहित ठूलो संख्यामा नेपाली नरनारीहरु होटल सोल्टीमोड कालिमाटीदेखि त्रिपुरेश्वर , माइतीघर मण्डला, नयाँ वानेश्वर , तीनकुने हुँदै विमानस्थल अघिसम्म पंक्तिबद्ध बनेर उभिएका थिए ।
बिदाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमनत्री केपी शर्मा ओली विमानस्थल गएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, शर्मा ओली लगायत संवैधानिक अंगका प्रमुखहरु , मन्त्रिपरिषद्का सदस्यहरु, नेपाली सेनाका विशिष्ट अधिकारीहरुले राष्ट्रपति सीको बिदाई गरेका थिए ।
नेपाल बसाइको क्रममा देश विकासका लागि बिभिन्न ‘उपाय’हरु पनि सुझाएर गएका राष्ट्रपति सीले सुशासन र जनताप्रतिको दायित्वलाई उच्च महत्व दिन नेपालका नेताहरुलाई सुझाव दिएका थिए ।
स्थायीत्व र समृद्धिको यात्रामा रहेको नेपालका लागि वास्तवमा चिनियाँ राष्ट्रपति सीको भ्रमण कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु