राष्ट्रपति मुगाबेद्वारा पद त्याग गर्न अस्वीकार

२०७४ मंसिर १ गते, शुक्रबार

काठमाडौ, १ मंसिर । जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेलाई पद त्याग गर्न दिइएको दबाब उनले अस्वीकार गरेका छन् । ३७ वर्षसम्म सत्तामा एकलौटी गरेका मुगाबेले आफ्नो उत्तराधिकारीमा पत्नी ग्रेसलाई अगाडी सारेपछि भएको सत्ता संघर्षमा सेनाले सबै शक्ति नियन्त्रणमा लिएको छ । हाल सैनिक नियन्त्रणमा रहेका मुगाबेलाई सेनाले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आग्रह गरेको छ । तर मुगाबेले उक्त आग्रहलाई ठाडै अस्वीकार गरेका छन् ।
मुगाबेलाई कुन भूमिका दिने भन्नेबारेमा भएको वार्ता निरर्थक बनेको छ । विपक्षी नेता मोर्गान त्स्भानगिराईले भने अहिले चालिएको कदम जनइच्छा बमोजिम भएकाले मुगाबेले तत्काल पद छाड्नुपर्ने माग गरेका छन् । ९३ वर्षीय शासक मुगाबेमाथि आफ्नो ३७ वर्षे शासन टिकाउन मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लाग्ने गरेको छ ।
बुधबार आफ्नै निवासमा सेनाले नजरबन्दमा राखेका मुगाबेले सजिलै सत्ता छाडेमा शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने बताइए पनि मुगाबेले आफू अझै वैधानिक राष्ट्रपति भएको भन्दै पद त्याग्न मानेका छैनन् । दक्षिण अफ्रिकी विकास समुदाय र अफ्रिकी युनियनलगायतका क्षेत्रीय संगठनले सैन्य नियन्त्रणलाई अनुमोदन गर्नुभन्दा पनि संकटलाई लिएर संवैधानिक रुपमा सही हुने समाधान दिन मध्यस्थताको प्रयास गरेका हुन् ।
९३ वर्षीय राष्ट्रपति मुगाबेले सन् १९८० मा अल्पसंख्यक श्वेत शासकलाई पन्छाए यता लगातार जिम्बाब्वेको नेतृत्व गरिरहेका छन् । तर हालै उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई बर्खास्त गरेपछि सत्तारुढ जानू पिएफ दलमा पनि विभाजन निम्तिएको छ ।

प्रतिक्रियाहरु