राष्ट्रपतिबाट संसद भंग

२०७५ कार्तिक २४ गते, शनिबार

काठमाडौँ, २४ कात्तिक । श्रीलंकामा राजनीतिक संकट गहिरिँदै गएपछि राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद् नै भंग गरिदिएका छन् । राष्ट्रपति सिरिसेनाले गएरातिदेखि लागू हुने गरी संसद् भंग गरेका हुन् । संसद् भंग भएसँगै आगामी वर्षको सुरुआतमै निर्वाचन हुन सक्ने बताइएको छ । तर राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्न सक्ने सम्भावनासमेत छ ।
प्रधानमन्त्री पदबाट बर्खास्त गरिएका रनिल विक्रमासिंघेको दल युनाइटेड नेसनल पार्टीले राष्ट्रपतिसँग संसद् भंग गर्ने अधिकार नरहेको जिकिर गरेको छ । अघिल्लो महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमासिंघेलाई बर्खास्त गरेर पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए । तर प्रधानमन्त्री विक्रमासिंघेले संसदमा बहुमत हुँदाहुँदै आफूलाई बर्खास्त गर्नु अवैधानिक भएको भन्दै पद छाड्न अस्वीकार गरेका थिए । विक्रमासिंघेको पार्टी युएनपीका सांसद अजित परेराले राष्ट्रपतिले संसद् भंग गर्नु अवैधानिक भएकाले यो निर्णय रद्द गर्नुपर्ने बताए ।-एजेन्सी

प्रतिक्रियाहरु