राष्ट्रपतिद्वारा वार्ताका लागि आमन्त्रण

२०७५ मंसिर २ गते, आईतवार

काठमाडौ, २ मंसिर । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति सङ्घर्ष समाप्त गर्ने उद्देश्यले आइतबार मुख्य राजनीतिक दलका नेताहरुलाई वार्ताका लागि आमन्त्रण गरेका छन् । गत महिना अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरेयता श्रीलंकामा राजनीतिक तनाव चुलिएको छ । राष्ट्रपति सिरिसेनाले महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा गरेको नियुक्ति अवैधानिक रहेको भन्दै बर्खास्तीमा परेका विक्रमासिङ्घेले अदालतमा मुद्दा दायर गरेका थिए । साथै, पुनर्स्थापित संसदले मतदान गरी राजापाक्षलाई पदबाट हटाएको छ । रनिल विक्रमासिङ्घेले आफू अझै मुलुकको प्रधानमन्त्री रहेको दाबी गर्दै आएका छन् ।
‘राष्ट्रपति सिरिसेनाले संसदमा रहेका दलका प्रतिनिधिहरुसँग आज बैठक डाक्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयले जनाएको छ, ‘राष्ट्रपतिले हालको राजनीतिक अस्थिरता र द्वन्द्वको अवस्था अन्त्य गर्न बैठक बोलाउनु भएको हो । उहाँले संसदको कार्यवाहीलाई नियमित गर्न चाहनु भएको छ ।’
गतसाता राजापाक्ष पक्षधरका सांसदहरुले अविश्वासको प्रस्तावमाथि छलफल हुन नदिन संसदमा फर्निचर तोडफोड गर्नुका साथै विपक्षीहरुमाथि खोर्सानीको धूलो फालेका थिए । राजापाक्षका विपक्षमा शुक्रबार भएको दोस्रो मतदानपछि विक्रमासिङ्घेले आफ्नो सरकार पुनर्स्थापित हुनुपर्ने माग गरेका थिए, तर राष्ट्रपति सिरिसेनाका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन । विक्रमासिङ्घेले श्रीलंकामा स्थायित्व आवश्यक रहेको बताउँदै संवैधानिक सङ्कट निम्त्याउने गरी शक्ति सङ्घर्ष भए पनि आफू राष्ट्रपतिसँग मिलेर कार्य गर्न तयार रहेको स्पष्ट पारे ।
राष्ट्रपतिले विक्रमासिङ्घेलाई पदच्यूत गरेपछि नोभेम्बर ९ मा संसद समेत विघटन गरेका थिए, तर सर्वोच्च अदालतले राष्ट्रपतिको आदेशलाई खारेज गर्नुका साथै संसद पुनर्स्थापना गरेको थियो । उन्नाइस दिनदेखि श्रीलंकाको प्रधानमन्त्रीमा दुई नेताले दाबी गरिरहेका थिए, तर बिहीबार संसदका सभामुख कारु जयसुर्या कुनै पनि नेतालाई प्रधानमन्त्रीका रुपमा मान्यता दिन असफल भएका छन् । हाल आधिकारिक रुपमा श्रीलंकामा सरकार छैन । -रासस/एएफपी

प्रतिक्रियाहरु