राष्ट्रपतिद्वारा राजीनामा

२०७४ फाल्गुन ३ गते, बिहीबार

काठमाडौं, ३ फागुन । आफ्नै पार्टीको निरन्तर दवावपछि राष्ट्रपतिले पदबाट राजीनामा दिएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले टेलिभिजनमा सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका हुन् । उनले पार्टी निर्णयबाट आफू असन्तुष्ट रहेको समेत बताए । उनले सम्बोधनका क्रममा आफ्नो पार्टी एएनसीमा हिंसा हुने र पार्टी विभाजनमा जाने भएकाले आफूले राजीनामा दिएको बताए । आफ्नो कारण कसैको ज्यान नजाओस् र पार्टी विभाजन नहोस् भनेर तत्कालको समस्याका कारण राजीनामा दिने निर्णय गरेको उनले बताए । पद छाडे पनि अफ्रिकी जनताका लागि काम गरिरहने उनको प्रतिबद्धता थियो । जुमाको बार्टी एएनसीले उनलाई राजीनामा गर्न दबाब दिँदै आएको थियो । राजीनामा नदिए संसद्को सामना गर्नुपर्ने चेतावनीसमेत पार्टीले दिएको थियो ।
आफ्नै पार्टीले राजीनामा माग गरेपछि उनको राजीनामा माग गर्दै विभिन्न स्थानमा प्रदर्शनसमेत भएको थियो । ७५ वर्षीय जुमालाई उनको पार्टीले उप–राष्ट्रपति रामाफोसालाई एएनसीको नयाँ नेता बन्ने बाटो खोलिदिन आग्रह गरेको थियो । सन् २००९ देखि सत्तामा रहेका जुमालाई धेरै पटक भ्रष्टाचार र घुस लिएको आरोप लागेको छ ।

प्रतिक्रियाहरु