राम राज – बलराम तिमल्सिना

२०७६ पुष १३ गते, आईतवार

जव बलियो हुन्छ राम राज
शम्बूकहरू असुरक्षित हुन थाल्छन्
जव शक्तिको मात चढ्छ राम राजमा
छिमेकी देशहरूमाथि खतरा बढ्छ ।

जति जति वलियो हुन्छ राम राज
श्रीमतीहरू आगोमा पोलिन्छन्
त्यो राम राजमा
अरुको के कस्तो हालत होला ?
जहाँ गर्भिणी रानीहरू समेत
मध्यरातमा घरबाट निकालिन्छन् ।

राम राज
दाजुभाइमा लडाइँ गराउँछ
नझुक्नेलाई बाली बनाउँछ
झुक्नेलाई सुग्रिव बनाउँछ
पैतालै चाट्नेलाई हनुमान बनाउँछ
भक्तको पदवी दिन्छ
र वेतलवी लडाउँछ !

रामराज
अरुको वलिदानमा लङ्का जित्छ
र सुन चाँदी सोहोर्छ

राम राज
कहिलै रोटीको कुरा गर्दैन
भोकको झड्का उसलाई थाहै हुँदैन
भोक, रोग र गरिबीले थला परेका मान्छेलाई
लङ्कासँग वार गर्ने डङ्का पिट्छ
भोका पेटमा लात हान्छ
र जर्मन पुष्पक विमान खरिद गर्छ ।

राम राज
उसको देशको प्रजा बन्नको लागि
उनीहरूले मान्नु पर्ने धर्म तोक्छ
पहिरन तोक्छ, भाषा तोक्छ
र नमान्नेहरूलाई
डिटेन्सन सेन्टरको ठेगाना देखाउँछ !

राम राजमा
दिमाग सक्रिय भएका मान्छेहरू हुँदैनन्
भैहाले पनि दिमागमा ताल्चा ठोकेका
राम राजमा
जिब्रो थुतिएका मान्छेहरू हुन्छन्
या जिब्रो भए पनि जिब्रो बेचेका
राम राजमा
आँखा झिकिएका मान्छेहरू हुन्छन्
आँखा भए पनि पट्टी बाँधेका
राम राजमा
कान नसुन्ने मान्छेहरू हुन्छन्
सुन्नेहरू पनि ठेडी ठोकेका
राम राजमा
खुट्टा नभएका मान्छेहरू हुन्छन्
खुट्टा भए पनि हावा लागेका
राम राजमा
आत्माहीन मान्छेहरू बस्छन्
आत्मा हुनेहरू पनि आत्मा बेचेका !

यसरी
राम राज
आफ्ना नागरिकहरूबाट
जिब्रो खोस्छ
आँखा खोस्छ
कान खोस्छ
खुट्टा खोस्छ
दिमाग खोस्छ
आत्मा खोस्छ
र मुर्दा राज चलाउँछ !

जिउँदा मान्छे र राम राज
कहिलै सँगसँगै बस्न सक्दैनन् !

प्रतिक्रियाहरु