रामबजार महोत्सव जारी

२०७३ कार्तिक ८ गते, सोमबार

काठमाडौ, ८ कात्तिक । आइतबारदेखि पोखराको रामबजारमा रामबजार महोत्सव सुरु भएको छ । ‘जाऔँ खाऔँ अनि रामबजारमै रमाऔँ’ भन्ने नाराका साथ कला र संस्कृतिको प्रवद्र्धन एवम् जगेर्ना गरी आन्तरिक एवम् बाह्य पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको क्लबका अध्यक्ष कुमार थिङ तामाङले बताए । रामबजार युथ क्लबको आयोजनामा सुरु सो महोत्सवमा लोकनृत्य, बाल उद्यान, जातीय झाँकीको प्रस्तुति, स्थानीय एवम् राष्ट्रियस्तरका कलाकारको प्रस्तुति, पञ्चेबाजा, नौमती बाजा, मनोरञ्जनात्मक एवम् सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ ।
महोत्सव यही कात्तिक १३ गतेसम्म चल्ने छ । महोत्सवमा ३५ वटा स्टल राखिएको छ । महोत्सवको उद्घाटन गर्दै पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालले महोत्सवले धर्म, संस्कृति र परम्पराको संरक्षण गर्ने बताए ।
क्लबका अध्यक्ष कुमार थिङ तामाङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा रामबजार सोसाइटी युकेका सल्लाहकार महेश गुरुङ, नगर महिला समन्वय समितिका संयोजक पवित्रा गुरुङ, पोखरा उद्योग वाणिज्य सङ्घका सदस्य चन्द्रकिशोर गौतमलगायतका वक्ताले महोत्सवको महत्व माथि प्रकाश पारेका थिए ।

प्रतिक्रियाहरु