‘रामदतिवन जलेश्वर धाम’ ओझेलमा

२०७४ माघ २१ गते, आईतवार

काठमाडौं, २१ माघ । कपिलवस्तुको वाणगंगा–९ मा रहेको ऐतिहासिक रामदतिवन धाम प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको छ । पर्यटन प्रवद्र्धनको राम्रो वातावरण भएपनि उचित संरक्षण र प्रचारप्रसार नहुँदा सो धाम ओझेलमा पर्दै आएको हो । पूर्व–पश्चिम राजमार्ग वनगाई खार्खानदीदेखि सात किलोमिटर उत्तर विशाल जंगलभित्र अबस्थित ऐतिहासिक र पुरातात्विक महत्वको पवित्र तीर्थस्थलबाट बग्ने नदीलाई ‘श्रीराम दतिवन जलेश्वर धाम’का रूपमा परिचित छ । पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् राम सोही स्थान हुँदै वनवास जाँदा त्यहाँ दतिवन लगाएको किंवदन्ती छ । सोही नदी किनारमा देखिने मानिसका पाइला भगवान् रामकै हुन् भनी पूजा हुनुका साथै भगवान् शिवको पनि पूजा गरिँदै आएको छ । घनघोर जंगलभित्र रहेको यस पवित्र तीर्थको नदी किनारमा चट्टानले बनेका चित्राङ्कित रामका पाइला, सीता कुवा, राम–लक्षमण, लव–कुसका धनुस, रामविश्रामस्थल, सीताको चुलो, भगवान् विष्णुले छोडेको कछुवासमेत रहनुका साथै यस ठाउँमा दर्जनभन्दा बढी भगवान्ले वास गरेको १२ वर्षदेखि यही धाममा बस्दै आउनुभएका संरक्षक तथा सन्त भोलेबाबा कृष्णशरणले जानकारी दिए ।
वाणगंगा नगरपालिका भित्रको यस पवित्र धार्मिकस्थललाई जलेश्वर धामका रूपमा चर्चा हुँदै आएको र धार्मिक तथा पर्यटकीय महत्वको क्षेत्र भएको जानकारहरुले बताए पनि यस्को संरक्षण, विकास र प्रवद्र्धन हुन नसकेका कारण ओझेलमा पर्दै आएको हो । दुई दशक अघि पहाडबाट गाई लिएर यस जंगलमा चराउन आउने र बास बस्नेहरूले रामको पाइला र अन्य भगवान्का आकृति देख्न नसकेकामा २२ वर्षअघि मात्र तिलौराकोटका एक बाबाले राति सपनामा यस घनघोर जंगलमा रामका पाइला भएको र सो ठाउँमा शिवको पनि ठूलो महत्व रहेको जानकारी पाएपछि खोज तलास गर्दा ती आकृति फेला परेको थियो । भगवान् राम वनवासकै क्रममा यस स्थानमा आएर दतिवनले दाँत माझ्दै नदी तर्दा पाइला शिलामा छापिएको किंवदन्तीअनुसार यस ठाउँलाई रामदतिवन धाम राखिएको र ती पाइला रामकै हुन् भन्ने मान्यता रहिआएको छ ।
साउन महिनामा भक्तजनको घुइँचोलाग्ने यहाँस्थित नदीको चट्टानमा देखिने पाइलामा भक्तजनले पूजा गर्दै आएका छन् । गत वर्ष लुम्बिनी पर्यटन प्रवद्र्धन कोषबाट रू छ लाख ६५ हजारबाहेक यस धामले अन्य सरकारी सहयोग पाउन नसकेको धामका अध्यक्ष लालबहादुर खड्काले जानकारी दिए ।
यस धामको भौतिक पूर्वाधार बने स्नान र अवलोकन गर्नका लागि यहाँ दिनहुँ सयौँको संख्यामा पर्यटक भित्रिने सम्भावना छ । अत्यन्त शान्त मनोरम वातारणमा अवस्थित यस धामको संरक्षण र विकासमा समबद्ध पक्षले जोड दिंदै आएका छन् । वाणगंगा नगरपालिका क्षेत्रभित्र यो धामसँगै कपिलधाम, रामकुमार बाबा धाम, मधुवन धामलगायत दर्जनभन्दा बढी धार्मिक पर्यटकीयस्थल छन् । पूरा धाम करिब तीन हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु