रातो मच्छिन्द्रनाथको रथारोहणमा ढिलाई

२०७२ श्रावण ११ गते, सोमबार

काठमाडौं, ११ साउन । रातो मच्छिन्द्रनाथको रथारोहण आउँदो भदौ २२ गतेसम्म नहुने भएको छ । यसपाली साउन २० गतेदेखि भदौ ३ गतेसम्म शुक्र ग्रह अष्त हुने र साउन २७ गतेदेखि भदौ २० गतेसम्म बृहस्पति अष्त हुने भएकोले मूर्तिलाई रथारोहण गर्न नमिल्ने रातो मच्छिन्द्रनाथ जात्राको साइत निकाल्ने ज्योतिष समूहका सदस्य दैवज्ञ कीर्तिमदन जोशीले बताएका छन । शुक्र र बृहस्पति ग्रह अष्त हुने समय भन्दा तीनदिन अघि र तीन दिन पछिसम्म कुनै पनि राम्रो काम गर्न नहुने परम्परा छ । त्यसैले आउँदो साउन १७ देखि भदौ २२ गतेसम्म रातो मच्छिन्द्रनाथको रथारोहण नहुने भएको हो ।
रथ बनाएको एक महिनाभित्र मूर्तिलाई रथारोहण गर्नु पर्ने परम्परा भएकोले साउनको अन्तिम हप्ता वा भदौको पहिलो हप्तादेखि मात्र रथ बनाउने काम थालिने रथ निमार्णमा संलग्न बाराही नाइके दिल कुमार बाराहीले बताए ।
अहिले ललितपुरको छयासीकोटमा क्षतिग्रस्त रथ भत्काएर फेरि प्रयोग गर्न मिल्ने काठ छुट्टयाउने काम भइरहेको छ । क्षतिग्रस्त रथलाई भत्काउन एक हप्ता लाग्ने बाराहीले बताए । अहिलेसम्ममा रथमा रहेका धकिपायम्व, ह्यग्रिभव भैरवको मुकुट, सुनका झयाल , ढोका , फूल लगायतका बहुमूल्य साम्रगी निकालिसकेको छ । त्यस्तै रथको अगाडि भागमा राखिएको घमालाई रथबाट छुट्याइसकिएको छ ।

प्रतिक्रियाहरु