राज्य आतंक बन्द नभए प्रतिरोध संघर्ष

२०७५ असार ६ गते, बुधबार

काठमाडौं, ६ असार । नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता–कार्यकर्ताहरुलाई विना कारण गिरफ्तार, धरपकड गरेको भन्दै आपत्ति जनाएको छ । उसले गिरफ्तार नेता–कार्यकर्तालाई तत्काल रिहा नगरे र धरपकड बन्द नभए प्रतिरोधमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ । नेकपाका बाँके इन्चार्ज अर्जुनले एक विज्ञप्ति जारी गरेर जेठ ९ गते निबुवा गाउँबाट गिरफ्ता गरिएका पार्टीको सुकुम्बासी संगठनका जिल्ला केन्द्रीय सदस्य प्रकाश आचार्य, जिल्ला संयोजक तिलक गिरी र पार्टी कालीबहादुर परियारको रिहाईको माग गरेका छन् । त्यसैगरी अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मदन चन्दको नाममा पक्राउ पुर्जी जारी गरेको भन्दै घोर निन्दा गरेका छन् ।
“राजनीतिक काममा खटिरहेका नेपाल हाम्रो पार्टीका नेता–कार्यकर्तामाथि भइरहेको प्रहरी दमन, गिरफ्तारी र हस्तक्षेपको हाम्रो पार्टी घोर निन्दा एवं भत्सर्ना गर्दछ । हिरासतमा राखिएका पार्टीका नेता–कार्यकर्ताहरुको तत्काल रिहाई गर्न र राज्यआतंक बन्द गर्न बाँके जिल्ला पार्टी केपी सरकार एवं प्रशासन समक्ष जोडदार माग गर्दछ । साथै, यस प्रकारको रबैया आगामी दिनमा नरोकिएमा हाम्रो पार्टी प्रतिरोध संघर्षमा उत्रिन बाध्य हुने पनि यसै विज्ञप्तिमार्फत सम्बन्धित सबैमा जानकारी गराउँदछौं” इन्चार्ज अर्जुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
इन्चार्ज अर्जुनले सरकारले आफ्नो पार्टीका शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि हस्तक्षेप गरेर फासिवादी रवैया बढाएर जनताका सिमित अधिकार पनि खोस्न लागेको बताएका छन् । “वर्तमान सामाजिक दलाल पुँजीवादी केपी सरकार दिनदिनै फासिष्ट बन्दै गइरहेको छ । आफूलाई कम्युनिस्ट भनेर जनतामा भ्रम छरिरहेको सरकारले जनताको संघर्षबाट प्राप्त सिमित अधिकारहरु पनि खोस्दै गइरहेको छ । विचार राख्ने, सभा जुलुस गर्ने, राजनीतिक गतिविधि गर्ने अधिकारमाथि पनि हस्तक्षेप र प्रतिवन्ध लगाउँदै गएको छ भने भ्रष्टाचारी, कालोबजारिया, राष्ट्रघातीहरु र जनताका पीडकहरुलाई संरक्षण दिइरहेको छ । दलाल, भ्रष्टाचार, कालोबजारी, राष्ट्रघात र जनतालाई विभिन्न तरिकाले उत्पीडन गर्ने तत्वहरुको विरोध गर्ने जनता र हाम्रो पार्टीका नेता–कार्यकर्ताहरुलाई घरमा बसिरहेको, सांगठानिक काममा लागेको बेला, भेला सम्मेलन गर्दा कडा निगरानी गरेर आतंकित पार्ने र गिरफ्तार गरी बन्दी बनाउने कार्य स्थानीय प्रशासन गरिरहेको । सरकारको यस्तो रवैयाको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।
नेकपाका बाँके इन्चार्ज अर्जुनले जारी गरेको विज्ञप्तिको पूर्ण बिबरण यस्तो छ – “आज देश क्रान्ति र प्रतिक्रान्तिको भिषण टक्करका बीच अघि बढिरहेको छ । राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवाल दिनप्रतिदिन झन पेचिलो बनिरहेको सन्दर्भमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले नेपाली जनताको अस्तित्व, विकास र समृद्धिका साथै आमूल परिवर्तन एवं क्रान्तिको पूर्णताका लागि एकिकृत जनक्रान्तिको कार्यदिशाको बाटोबाट अघि बढिरहेको सर्वविदितै छ । एकिकृत जनक्रान्तिको लक्ष देशमा विद्यमान राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, घुसखोरी, कमिसनतन्त्र, दलालीकरण, सत्ता एवं कुर्सीको संसदीय फोहोरी खेल, तश्करी,महिला बेचबिखन एवं व्यभिचार, राष्ट्रिय पँुजि एवं उद्यमी व्यवसायीहरुको टाट उल्टाई , राजकीय गुण्डागर्दी र आकाशिदो मूल्यवृद्धिले निम्त्याएको कहालीलाग्दो जनजिविकाको समस्याको अन्त्य गरी राष्ट्रिय मुक्ति सहितको नेपाली जनतार्को वैज्ञानिक समाजवाद’ स्थापना गर्नु हो । यसका लागि हाम्रो पार्टी आफ्नै संविधान र जनसत्ता निर्माण गरि जनताको सेवा र न्याय प्रदान गरिरहेको कुरा सबैमा पुनः स्मरण गराउन चाहन्छौं ।
वर्तमान सामाजिक दलाल पुजीवादी केपी सरकार दिनदिनै फासिष्ट बन्दै गैरहेको छ । आफूलाई कम्युनिष्ट भनेर जनतामा भ्रम छरिरहेको यो सरकारले जनताको सघर्षबाट प्राप्त सीमित अधिकारहरु पनि खोस्दै गैरहेको छ । विचार राख्ने, सभाजुलुश गर्ने, संगठनात्मक गतिविधि गर्ने अधिकार माथि पनि कडा हस्तक्षेप र प्रतिबन्ध लगाउँदै गएको छ भने भ्रष्टाचारी, कालोबजायिा, राष्ट्रघातीहरु र जनताका पिडकहरुलाई संरक्षण दिइरहेको छ । दलाली, भ्रष्टाचार, कालोबजारी, राष्ट्रघात र जनतालाइ विभिन्न तरिकाले उत्पीडन गर्ने तत्वहरुको विरोध गर्ने जनता हाम्रो पार्टीका नेता र कार्यकर्ताहरुलाई घरमा बसिरहेको, सांगठनिक काममा लागेको बेला, भेला सम्मेलन गर्दा कडा निगरानी गरेर आतंकित पार्ने र गिरफतार गरि बन्दी बनाउने यो सरकार र यसको स्थानीय प्रशासनले गरिरहेको छ । सरकारको यस्तो रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।
यसै सन्दर्भमा बाँके जिल्ला प्रहरीले हाम्रो बाँके जिल्ला पार्टी सदस्य एवं सुकुम्बासी संगठनका केन्द्रिय सदस्य प्रकाश आचार्य, पार्टी सदस्य तथा सुकुम्बासी संगठनका जिल्ला संयोजक तिलक गिरी र पार्टी सदस्य कालीबहादुर परियारलाई संगठनको कामको सिलसिलामा रहेको अवस्थामा जेष्ठ ९ गते निबुवा गाँउबाट पक्राउ गरि हिरासतमा राखेको छ । यसैगरी जिल्लाका अन्य नेता तथा कार्यकर्ताहरुमाथि मुद्धा लगाउनुका साथै कडा निगरानी बढाएको पाइएको छ । अखिल(क्रान्तिकार्री) का केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष मदन चन्दको नाममा पक्राउ पुर्जी सल्यान जिल्ला स्थित निजको घरमा पठाइ राज्यआतंक बढाएको छ । राजनीतिक काममा समर्पित राष्ट्रवादी नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकताहरु माथि भैरहेको यसप्रकारको प्रहरी दमन र हस्तक्षेपको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । हिरासतमा रहनुभएका हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुको तत्काल रिहाई गर्न र राज्यआतङ्क बन्द गर्न बाँके जिल्ला पार्टी केपी सरकार एवं प्रशासन समक्ष जोडदार माग गर्दछ । साथै, यस प्रकारको रवैया आगामी दिनमा नरोकिएमा हाम्रो पार्टी प्रतिरोध संघर्षमा उत्रिन बाध्य हुने पनि हामी यसै विज्ञप्ति मार्फत संबन्धित सबैमा जानकारी गराउँदछौं । ”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु