राज्यमन्त्री बनाउन भाले भिडन्त

२०७३ आश्विन २७ गते, बिहीबार

काठमाडौ, २७ असोज। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक कात्तिक ४ गतेलाई बोलाइएको छ । तर बैठकअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यमन्त्री छान्ने बताइएको छ । पार्टीभित्रै असन्तुष्टि बढेपछि बैठक अघि मन्त्री छान्ने गरी उनले छलफल गरेको नेताहरुले बताएका छन् । दसैंअघि नै राज्यमन्त्री बनाउन देउवालाई दबाब परेपछि उनले दशैंपछि सारेका थिए ।
आकांक्षी बढी भएपछि राज्यमन्त्री कति बनाउने भन्नेमा अन्यौल देखिएको छ । आकांक्षीको व्यवस्थापनका लागि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ९ राज्यमन्त्री माग गरेका छन । तर, प्रधानमन्त्री प्रचण्डले कुल मन्त्रालय संख्याको पचास प्रतिशतभन्दा बढी राज्यमन्त्री बढाउन नहुने बताएको बुझिएको छ । प्रधानमन्त्री कांग्रेसबाट ८ भन्दा बढी राज्यमन्त्री बनाउन नहुने पक्षमा छन ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ४ राज्यमन्त्री आफ्नो समूहलाई दिनुपर्ने माग गरेका छन भने कृष्णप्रसाद सिटौला र खुमबहादुर खडकाले समेत भागबन्डा खोजेको बुझिएको छ ।
स्रोतका अनुसार सभापति देउवाले कैलालीका दीर्घराज भाट, रूपन्देहीका अब्दुल रज्जाक, मोरङका दिलीप गच्छेदार, गुल्मीका सुवर्ण ज्वारचन, तनहुँका ध्रुव वाग्ले, सुनसरीका सीताराम मेहता र मीन विश्वकर्मा मध्येलाई आफ्नो समूहबाट राज्यमन्त्रीमा पठाउने छन् ।
पौडेल पक्षले कपिलवस्तुका सुरेन्द्र आचार्य, काभ्रेका कञ्चन बादे श्रेष्ठ, झापाकी सरिता प्रसाईं र कास्कीका जीवन परियारलाई पठाउने तयारी गरेको छ ।

प्रतिक्रियाहरु