राज्यका कमजोर सूचना संयन्त्रकाकारण पाएको यातना – ओम हमाल

२०७४ मंसिर १३ गते, बुधबार

एकपटक मलाई दुखका साथ भन्न मन लागेको छ कि फेरि पनि राज्यका सूचना संयन्त्रहरु निकम्मा रहेछ भन्ने कुराको प्रमाणित भएको छ । एकजना पत्रकार, पुलिसको सम्पर्क चोर, फटाहा, सज्जन, इमान्दार जोसँग पनि भेट सम्पर्क हुन्छ । के तिनीहरुसँग सम्पर्क भयो भन्दैमा पत्रकारलाई पक्राउ गर्ने ? पोरखामा यतिबेला यति धेरै प्रहरी निकायका घुमुवा र जासूसहरु परिचालन भएका छन् कि बाटोको जुन कुनामा रहेपनि प्रहरीसग नै ठोक्किन्छ । यति बेला पोखरामा ४ नं. प्रदेश कार्यालय। गण्डकी अञ्चल प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय बैदाम, रामबजार, बगर, डाँडानाक प्रहरी चौकी लगायत नेपाली सेना, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीको घुमुवाहरु छ्यापछ्याप्ती छन् । तैपनि सूचनाको संयन्त्र यति कमजोर रहेछ कि पोखरामा नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाकी पोलिटब्यूरो सदस्य उमा भुजेल ठूलो मात्रामा हतियार र लडाकूसहित पोखरा छिरेकी छिन् भन्ने सूचना पाएको रहेछ । भुजेललाई पत्रकार ओम हमालले शेल्टर दिलाएको छ भन्ने गलत सूचना रहेछ सुरक्षा संयन्त्रमा । यो राज्यको कस्तो सूचना संयन्त्र रहेछ भने पत्रकार ओम हमाल कहिले पनि पछि हट्न जान्दैन र डराउन पनि डराउँदैन । नेकपाका कतिपय नेता तथा कार्यकर्ताहरु भूमिगत शैलीमा जीवन बिताईरहेका छन् । तर यो मुर्ख पत्रकार ओम हमाल न भूमिगत बन्छ, न लुकेर हिंड्छ ।
ओम हमालले हरेक दिन आफ्नो घर आउने जाने गरेको छ । हरेक दिन आफ्नो जनसञ्चार डट कमको कार्यालयमा आएर न्यूज अपडेट गरिरहेको छ । सहकर्मी मित्र रमाकान्त बास्तोलाले हरेक दिन साथ दिईरहेका छन् । पत्रकार ओम हमाल र रमाकान्त बास्तोलालाई पक्राउ गर्न चाहृयो राज्यले भने सजिलै सक्छ । तर दुःखको कुरो मलाई फँसाउन उद्दत दलालहरुले दिएको गलत सूचना र प्रहरीभित्र रहेको द्वेषपूर्ण व्यवहारले मलाई पक्राउ गर्न दबाब परेको छ भन्ने कुरा मलाई घामजत्तिकै छर्लङ्ग छ । सरकारी संयन्त्रलाई ओम हमालका बारेमा गलत सूचना दिइने गरेको छ भन्ने तथ्य फेरि आज प्रमाणित भएको छ ।
मोटरसाइकल बनाउन भनेर रानीपौवाको वर्क सपमा पुगेको म मोटरसाइकल बनाउन समय लाग्ने भएपछि नजिकैको होटलमा खाजा खान पुगेको थिएँ । त्यहीं एकजना चिनेको दिदी पनि भेटिनुभयो । खाजा खाईरहेका बेला सादा पोशाकका प्रहरी भाईहरु त्यहाँ पुगे । मेरो मोवाइल मागे । मैले काम गर्ने अफिस, घरमा र पत्रकारसँग सम्बन्धित साथीहरुलाई खबर गर्छु ।” भने । उनीहरुले मलाई फोन गर्न दिएनन् । सादा पोशाकमा आएका एक प्रहरी भाईले “दिदी तपाईंको नाम उमा भुजेल हो” भनेर सोधे । मैले त उमा त उमा पत्रकार उमा आले भनेर सोधेको होला भन्ने लाग्यो र मैले भनें, “वहाँ पत्रकार उमा आले बहिनी हैन ।” भनेर जवाफ दिएँ ।
तैपनि उनीहरु हामीलाई प्रहरी कार्यालयमा लैजाने कुरामा अडिग रहे । मैले भने,”म एउटा राजनीतिक कार्यकर्ता हुँ र तिम्रो हाकिमकाविरुद्ध समाचार लेख्ने पत्रकार हुँ । म तिमीहरुले भनेको ठाउँ हेडक्वार्टर लैजाऊ, जहाँ लैजाने हो लैजाऊ । म जहाँ जान पनि तयार छु । तर गैरराजनीतिक दिदीलाई किन दुःख दिनुहुन्छ ?” भनेर प्रश्न गरिरहें । मलाई जाउँ भनेर तान्न थालेपछि मैले चेतावनीपूर्ण तरीकाले प्रश्न गरें कि “मलाई पक्राउ गर्ने हो र तिमीहरुले भनेको ठाउँमा जाने हो भने मलाई पक्राउ पूर्जी देऊ, बल्ल जान्छु । नत्र जान्न” भनेर अड्डी लिएँ । ड्युटीमा रहेका एक सईले पक्राउ पूर्जी दिन्छु भनेर फूर्ति पनि गरे । तर केको पक्राउ पूर्जी दिने ? उनले आफ्नो वाध्यतालाई बुझेर प्रहरी कार्यालयमा गैदिन अनुरोध गरे । मैले मानिन । मलाई भने अनाहकमा पक्रउ गर्न खोजिएकोमा रिस उठिरहेको थियो । मैले फेरि अर्को माग पनि राखें । मलाई पक्राउ गर्ने हो भने मेरो कार्यालय, आफन्तलाई खबर गर्न मोवाइल देऊ । उनीहरुले मलाई फोन गर्न नदिएपछि मैले मलाई मेरो आफन्तलाई फोन गर्न नदिने हो भने कहीं जान्न, गोली ठोके ठोक भनेर अडान राखें । उनीहरुले आफू गिरफ्तारीमा परेको कुरा आफन्तहरुलाई खबर गर्न पाउने अधिकार नपाएसम्म म कतै चल्दिन भनेपछि सादा पोशाकमा रहेका केही प्रहरीहरुले मलाई जबरजस्त ीगर्न खोजे । मैले जबरजस्ती नगर्न चेतावनी दिएपछि ती सादा पोशाकका अलिक चर्को रुपमा आएका भाई पछि हटे । त्यतिबेलासम्म रानीपौवाचोकमा ठूलै भीड लागिसकेको थियो । मैले पनि त्यही भीडतर्फ फर्किएर आफू पक्राउ पर्नुकोकारण बताएँ ।
मैले म कुनै बम गोला बारुद बोक्ने मानिस हैन । मैले आफू एक राजनीतिक रुपमा सचेत नागरिक हुँ र विगत दुईदशकदेखि अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकार भएको बताएँ । मैले त्यहाँ के कुरो पनि प्रष्ट पारिदिएँ भने महिलालाई दुरव्यवहार गर्ने दुई जना प्रहरी कर्मचारीहरुलाई जागीरबाट निलम्वन गरिएको तर ती निलम्वित प्रहरी कर्मचारीलाई सख्त घाइते हुने गरी पिट्ने प्रहरी प्रमुखको गल्ती औंल्याएर समाचार लेखेकै कारण मलाई प्रतिशोधपूर्ण तरीकाले गिरफ्तार गर्न खोजिएको बताएँ । यही दलाल राज्यसत्तामा लागू भईरहेको संविधानले दिएको वाक तथा अभिव्यक्ति स्वतन्त्रताका अधिकार प्रयोग गरेर समाचार सम्प्रेषण गरेको र आज आफ्नो त्यो अधिकार खोस्न खोजिएको बताएँ । आफ्ना कुरा राखेपछि भने प्रहरी दाजुभाईहरुलाई लागेछ कि पक्राउ परेको बारेमा आफन्तलाई जानकारी दिन पाउनुपर्छ । बल्ल मलाई गाडीभित्रै बसेर फोन गर्न भनियो । मैले गाडी बाहिर बसेर खबर गर्छु अनि तपाईंले जहाँ लगेपनि जान्छु भने । फोन गरेपछि मैले प्रहरीको गाडीको बचि सिटमा बसें । मसँगै बसेको दिदीलाई ट्याक्सीमा लिएर हिंडें ।
जब जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगें, न प्रहरीका हाकिम आउँछन्, न यसकारण समातिएको हो भन्ने बारेमा केही जानकारी दिइयो । मैले त्यहाँ पनि के जिकिर गरिरहें भने मलाई त राजनीतिककारण पक्राउ गर्नुभयो, गैरराजनीतिक व्यक्ति वहाँलाई किन दुःख दिईरहनुभएको छ ?” निरन्तर प्रश्न गरिरहें । करीब एकघण्टापछि कास्की प्रहरीका हाकिम आउनुभयो । त्यसपछि ती दिदीलाई छुट्टै लगेर सोधीखोजी गरियो । वहाँले आफ्नो परिचय खुल्ने आधारहरु देखाउनुभयो । त्यसपछि प्रहरी झल्याँस्स भयो कि वहाँ त नेकपाकी नेतृ उमा भुजेल नहुनुहुँदो रहेछ ।
त्यसैबीचमा पुगेका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक र विवि विष्ट सर पुग्नुभयो । प्रहरीले हामीलाई आवश्यक परेको बेला उपस्थित हुने गरी नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको रोहवरमा करीब डेढ घण्टापछि छाडेको अवस्था छ ।
यति बेला हामी हाम्रो काममा फिर्ता भएका र्छौं । राज्यका सूचनाको कमजोर सूचनाको संयन्त्रकाकारण हामीलाई दुःख दिने काम भयो । जुन लज्जाष्पद र दुःखद अनि खेदजनक छ ।
अन्त्यमा हामीलाई पक्राउ गरिएको विषयमा चिन्ता प्रकट गर्दै सहानुभूति दिने र शीघ्र रिहाईका लागि आवाज उठाउने आफन्त, शुभेच्छुक, बुबाआमा, दाजूभाई र दिदीबहिनीहरुमा आभार प्रकट गर्दछौं । तपाईंहरुको यस सदासयताले हामी हाम्रो निर्भिक पत्रकारितामा अघि बढ्न बल मिल्नेछ । हामी अझै नीडरताका साथ इमान्दार भएर जनपक्षीय पत्रकारिता गर्ने वाचा व्यक्त गर्दछौं ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु