राजबन्दी सुदर्शनलाई भावुक र मार्मिक पत्र : तपाई हाम्रो अबिरल यात्रा सँगै हुनेछ

२०७६ असार ३० गते, सोमबार

आदरणीय दाई सुदर्शन !
रत्तिम अभिवादन !!

प्रथमतः जनयुद्ध, जन-आन्दोलन, जनक्रान्तिमा हजुरको त्याग, तपस्या, दुःख, पीड़ा, जेलका यातना, लगानी, बलिदानीप्रति उच्चसम्मान ब्यक्त गर्न चाहन्छु । भौगोलिक, भौतिक रुपमा अलिक टाढा रहँदा यो हृदय विदारक क्षणमा मेरो मन भित्र दर्जनौ शब्दहरु घोत्लिन थाले । त्यसैले मलाई यो कागजको खोस्टो मार्फत दुई शब्द लेखी हजुरसँगको यात्रामा यात्री भई भेटघाटको महसूस गर्न चाहें ।
कमरेड! लाग्छ जनयुद्ध जनआन्दोलनमा मैले हिरासत बाहेक जेल नेलको अनुभव गरेको छैन । हजुरले भने भोगेर आएको इतिहास फेरी दलाल राज्यसत्ताको कारण पुनः दोहोरिएको छ । हामी सबैलाई थाहा छ, यतिबेला भौतिक रुपमा अस्वस्थ्य हुँदा हुँदै पनि तपाई जेल मोर्चालाई समाल्दै हुनुहुन्छ र समालिरहनु भएको छ ।
सलाम गर्न चाहन्छु कमरेड ! शारीरिक अस्वस्थताको बिच जेलको चिसो कस्टडीबाट प्रतिबन्धको प्रतिवाद गर्दै जेल मोर्चाको कमाण्डर भूमिका खेल्नु, एकिकृत जनक्रान्तिमार्फत बैज्ञानिक समाजवाद प्राप्तिका लागि हामीले सोचेको परिकल्पना र देखेका सुन्दर सपना झन जिउँदो बनेर प्रस्फुटन भइरहेको छ । ती तपाई हाम्रा अजम्बरी विचारहरु पूरा गर्ने बाटोमा हामी निरन्तर प्रतिबद्ध र प्रयत्नरत छौ कमरेड ।
केहि समयपछि अलिक धेरै सम्झना गरें । कलमको मसिबाट कपिको पानामा दाग लगाउन त खोजें ,भावनाका अनगिन्ति छालहरु छल्किरहँदा धेरै यथार्थता र मन भित्र गुंजयमान भएका शब्दहरु प्रस्फुटित गर्न यो पत्रमा अटाउन असमर्थ छू । आज देश र जनताका न्यायिक आवाजमा प्रतिबन्ध लगाइयो । बैज्ञानिक सुन्दर समाज निर्माणको बाटोमा पर्खाल लगाउन खोजियो । शान्ति, क्रान्ति, समृद्दि, स्वतन्त्र नेपालको नि:स्वार्थी भावनाका पल्लवीहरुको प्रतिबन्ध गरियो । केहि फासिस्ट प्रतिबन्धको प्रतिरोध गर्ने सुरूवातिमा फासिस्ट केपी-पीके सरकारले जनताको न्यायिक आवाज उठाउने तपाईलाई हत्कडी लगायो र निरअपराधीलाई अपराधी तुल्याई जेल चलान गर्यो । आज तपाई नख्खू जेल जीवन भित्रबाट प्रतिबन्धको सामना गर्दै हुनुहुन्छ भने हामी बाहिरी मोर्चामा अहोरात्र जनहितको लागि भोक प्यास नभनी संघर्षमा खटिरहेका छौँ ।
कमरेड ! यो सानो सन्देश लेख्दाको दिनसम्म आईपुग्दा दस जना होनहार योद्धाहरुले जनताको न्यायिक आन्दोलनमा संघर्ष गर्दागर्दै भौतिक रुपमा शाहदत प्राप्त गरिसक्नुभएको छ । तर वहाँहरुको नाम नेपाली जनताको मुक्तिका लागि गरिएको यस एकीकृत जनक्रान्तिको इतिहासमा सुनौलो अक्षरले शहीदका रुपमा स्मरण भैरहनेछ । क. महान, क. प्रज्वल, लगायत कमरेडहरु आन्तरिक दुर्घटनामा देश र जनताको लागि शहीद हुनुभयो । त्यति बेला देश रोयो, आम मुक्तिकामी नेपाली जनताले भावविव्हल बन्दै आँसुको धारा बगाए । क. कुमार पौडेल, क. तीर्थ घिमिरे, पछिल्लो घटनामा क.नीरकुमार राई “प्रशान्त”लाई निर्ममतापूर्वक हत्या गरियो । त्यस कायरतापूर्ण हत्याले मुक्तिका पक्षधर् आम नेपाली जनतामाझ नेपाली भूमिमा चलेको एकीकृत जनक्रान्तिप्रति अगाध माया, मोह र स्नेह बढेको छ ।
एकातिर वार्ताको हौवा फैलाउने र अर्कोतिर जनक्रान्तिका योद्धाहरुको बिभत्स हत्या गर्ने क्रम वर्तमान केपी-पिके दलाल सरकारले जारी राखेको छ । यदि साँच्ची नै यो दलाल सरकार वार्ता चाहन्छ भने उसले वार्ता गर्ने वातावरण बनाउनु पर्छ, तब नै वार्ता हुनसक्छ । “सापेक्षिक् रुपमा हामी वार्ता विरोधी हैनौ’ भनेर हाम्रो पार्टीका महासचिव क. बिप्लवले सार्वजनिक रुपमा भनिसकेको अवस्थामा हाम्रो पार्टी वार्ता गर्न पछी पर्ने कुरै भएन । तर सरकारले साँच्चिकै वार्ता चाहेको हो भने उसले वार्ताका लागि केही पुर्व शर्तहरु पुरा गर्नु पर्ने हुन्छ ।
यदि सरकारले वार्ता चाहेकै हो भने हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई लगाइएको प्रतिबन्ध तत्काल हटाउनुपर्छ, जेल र हिरासतमा रहेका कमरेडहरुलाई अविलम्व रिहाई गरिनुपर्छ र हाम्रो पार्टीका नेता तथा कार्यकर्तालाई निर्बाध रुपमा जनता माझ पुगेर आफ्ना कुरा राख्ने वातावरणको सुनिश्चितता गरिनु पर्छ । तर सराकार वास्तवमै वार्ता चाहिरहेको छैन भन्ने कुरा उसका गतिविधिहरुले देखाई रहेको छ । जनताको आवाज उठाउने कबि, पत्रकार, बुद्धिजीवीहरुको आवाज कुण्ठित गर्दै गिरफ्तारी रोकिएको छैन । नियमित सुरक्षा गस्तीको नाममा गाउँ-गाउँ र टोल टोलमा पुगेका हतियारधारी सरकारी गुण्डा र भिजिलान्तेहरुले नेपाली सोझा र सादा जनतालाई आतंकित पार्दै गैरकानुनी खानतलासी गर्ने, धम्क्याउने, आस्था राखेकै आधारमा गिरफ्तार गर्ने र शारीरिक तथा मानसिक यातना दिने एबम मुठभेड़ र भिडन्तको नाउँमा नि:शस्त्र नेपाली जनताको हत्या गर्ने कार्य जारी छ, जुन कदापि सह्य छैन ।
दलालसरकारमा फासीवादी क्रियाकलाप र सोचहरु दिन दुई गुणा, रात चार गुणा बढिरहेको छ । कम्युनिस्टको घमण्डमा गरिएका बिभिन्न हर्कतलाई सबै सबै तह र तप्काबाट चर्को बिरोध भईरहेको छ भने अर्कोतिर सम्पूर्ण नेपाली जनताको आशाको केन्द्र हाम्रो पार्टी बनिरहेको छ । त्यसैको आड र भरोसामा हामी झनै निडर, कर्मठ, प्रतिबद्द अनि जिम्मेवार बनिरहेका छौ ।
कमरेड! यस्तो परिस्थितिमा बरु “आमा” मलाई लड्न सिकाईदेउ भन्ने भाबुक गाना गुन गुनाउन फेरी बाध्य भएका छौ । कमरेड ! गाउन नसक्ने साथीहरु आंशिक रुपमा बाहिरिने स्वाभाविक बनिरहेको छ । जसलाई बिश्वास गरियो उसैले साथ छोड्दा आदरणीय महासचिब कमरेड विप्लवले भाबुकताका साथ दुई शब्द भन्नुभएको छ ।
“क्रान्ति, जनता, देशको निम्ति म एक्लै भएछु भनेपनि लड्नेछू,
सहीद बन्न तयार हुन्छु,
तर
धोका दिनेछैन ।”
कमरेड ! महासचिव कमरेडको यो मर्मस्पर्शी भनाइमा हाम्रो संगठन युवा संगठन नेपालले अन्तिम समयसम्म साथ दिनेछ । हाम्रो पार्टी जनयुद्ध र जनआन्दोलनबाट धोका पाएका जनताहरुको पार्टी हो । अन्तिम दाहसंस्कार गर्दागर्दै ,मसानघाटमा जलाउँदा जलाउँदै, आगोको लप्काबाट निस्केको रातो झिल्को हो, यो झिल्को निभाऊन जनबिरोधी तत्वहरुले अनेकन हत्कण्डाहरु गरिरहेका छन् ।
नौडाँडाँ पारिवाट षडयन्त्रै षड्यन्त्रका तानाबानाहरु बुनिएका छन् । हामी जनताले नचाहँदा नचाहँदै नेपाली जनतालाई अग्निको मुस्लोभित्र युध्दमा जबरजस्त धकेलिदै छ । यातनाका हरेक दस्ताबेजमा हस्ताक्षर गर्न बाध्य बनाईदैछ ।
कमरेड ! चाहे आफ्नो भागमा अकाल मृत्यु किन नपरोस क. माओलाई सम्झने बेला आएको महसूस भईरहेको छ । त्यसैले लाग्छ यो महान यात्रामा समाहित हामी सबैको गन्तब्य अब धेरै टाढा छैन । बिहानीपख झुल्किने लाल किरण मुस्कुराऊदै भन्छ “सुनौलो घामको किरणसँगै बिजयका दरिला हातहरु मिलाउने प्रतीक्षाको घड़ी हातमा बाधेर हेरिरहेको छू ।” कमरेड ! हरेक घुम्ती, अप्ठ्यारा, गौंडा, भन्ज्याङ्गहरु छिचोल्दै प्रतिबन्धको प्रतिरोध गरिरहेको छू कमरेड ! बरु कता कता हजुरको प्रत्यक्ष अनुपस्थितिले हाम्रो संगठनमा अपूर्णता महसूस भइरहेको छ । तरपनि तपाईले दिएका बिचार र योगदानलाई आत्मसाथ गर्दै अगाडि बढिरहेका छौ । कमरेडको शालीनता, संयमता, कार्यक्रम योजनामा देखभेट गर्न नपाउँदा अपूग भान भईरहेको छ । तर पनि पार्टिले दिएको काम, कारवाहीहरुमा अनवरत रुपमा खटीरहेका छौ । आम बेरोजगार युवाहरुको अधिकार प्राप्ति, सुनौलो समाज निर्माणको कार्यभार पूरा गर्ने कसम प्रतिबन्धले प्रज्वलित गरिदिएकोछ ।
अन्तमा, “जिते सिंगो संसार तपाई हाम्रो, हारे हाम्रो हातमा जेल नेल र यही माटो छदैछ, अरु गुमाउनु केहीपनि छैन । तरपनि हामी जित्छौ । किनकी हामीसँग सही कार्यदिशा र नेतृत्व छ ।जनताको अमूल्य साथ छ । राष्ट्रप्रेमी, देशभक्तहरुको समर्थन तथा क्रान्तिकारीहरु एकताबद्द हुँदैछन् । बलिदानिका कोटाहरु पूरा हुँदै गईरहेका छन् । एक दिन लाखौ युवाहरुले निधारमा रातो कफन बाध्नेछन् । त्यही दिन सुनौलो दिनको पर्दा खुल्नेछ । “एकिकृत जनक्रान्ति जिन्दावाद !बैज्ञानिक समाजवाद जिन्दावाद !” जस्ता गगनभेदी नाराहरु गुञ्जीनेछन् । त्यही दिनसम्म हाम्रो यात्रा निरन्तर अगाडि बढ्नेछ ।
कमरेड ! यही सानो सन्देश तपाईसामू पुर्याउने कोसिस गरें । अहिलेलाई बिदा सहित चाड़ै तपाई हाम्रो अबिरल यात्रा सँगै हुने आशासहित बिदा हुन्छु ।
क्रान्तिकारी अभिवादन सहित
सागर पुन
महासचिव
युवा संगठन नेपाल

प्रतिक्रियाहरु