राजपा टुक्रियो, राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन

२०७५ बैशाख ७ गते, शुक्रबार

काठमाडौं, ७ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा केही पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टीबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन गरेका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नयाँ पार्टीको महाधिवेशन नहुन्जेल यादवकै संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको घोषणा गरिएको छ ।
समितिका सहसंयोजकमा रीतेशकुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह तथा सचिवमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव एवं सदस्यमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित छन् ।
संयोजक यादवले मधेस आन्दोलनमा ६३ मधेसीले ज्यान गुमाएपनि यसको फाइदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्षमन्डलका ६ जना र उनीहरुका परिवारलेमात्रै पाएको आरोप लगाउँदै ‘राजपाले मधेसी जनताको मूल कार्यसूची छाडेर सत्तामा जाने गृहकार्य गरिरहेकाले’ आफूहरुले नयाँ पार्टी गठन गरेको बताए ।
सहसंयोजक सिंहले पार्टीमा आफू केन्द्रीय सचिव भएपनि अलोकतान्त्रिक प्रणालीबाट अध्यक्षमन्डलले जथाभावी निर्णय गर्ने गरेको आरोप लगाउँदै ‘जुन राजनीतिक विषयका लागि आन्दोलन भएको थियो, त्यसमा पार्टी नेतृत्वले कार्य गर्न सकेन’–भने । राजपाबाट ३३ केन्द्रीय सदस्य अलग्गिएर निर्माण भएको नयाँ पार्टीले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई वैचारिक दृष्टिकोणमा समावेश गर्नेछ ।- रासस

प्रतिक्रियाहरु