रहस्यमय शक्तिले महिलाको कपाल काटेपछि …

२०७४ श्रावण १९ गते, बिहीबार

काठमाडौं, १९ साउन । भारतका केही स्थानमा महिलाहरु आतंकित छन् । बेहोस बनाएर रहस्यमय शक्तिले महिलाको कपाल काटिदिने गरेको घटना एकपछि अर्को थपिदैं गएपछि आतंक मच्चिएको हो । हरियाणा र राजस्थानका ५० भन्दा बढी महिलाको कपाल त्यसरी काटिएको हो । पीडित महिलाका अनुसार कसैले उनीहरुलाई बेहोस बनाएर रहस्यमय तरिकाले कपाल काटिदिएको हो । प्रहरीले यस विषयमा अनुसन्धान थाले पनि कपाल कसले काटेको हो भन्ने प्रष्ट हुन सकेको छैन । हरियाणा राज्यको गुडगाउँस्थित भीमगढ इलाकामा बस्दै आएकी ५३ वर्षीय सुनिता देवीले भनिन्, ‘एक चम्किलो फ्ल्यास लाइटबाट म बेहोस भएँ, एक घण्टापछि मलाई थाहा भयो कि मेरो कपाल कसैले काटिसकेछ ।’
अघिल्लो शुक्रबार उनीमाथि भएको सो हमलापछि आतंकित भएकी उनले भनिन्, ‘त्यो घटनापछि मलाई निन्द्रा लागेको छैन । कुनै काम गर्न मन लाग्दैन । राजस्थानमा यस्तो घटना भएको मैले सुनेकी थिएँ तर यहाँ पनि यस्तो हुन्छ भन्ने मैले सोचेकै थिइनँ ।’ यस्तो ‘काल्पनिक हजाम’ को पहिलो समाचार जुलाइमा राजस्थानबाट आएको थियो । तर यस्ता खबर अब हरियाणा र दिल्लीमा पनि आउन थालेका छन् । अर्की एक महिला आशादेवीले पनि अघिल्लो शुक्रबार नै आफ्नो कपाल गुमाइन् । आशादेवीमाथि भएको सो घटनालगत्तै उनी र परिवारका अन्य महिला सदस्यलाई उत्तर प्रदेशस्थित आफन्तको घरमा पठाइएको छ ।
आशादेवीका ससुरा सुरज पालले उक्त दिनको घटना सम्झदै भने, ‘उनी राति १० बजेतिर घरबाहिर काम गर्दै थिइन् । आधा घण्टासम्म पनि नआएपछि उनलाई खोज्न थाल्यौं । उनी बाथरुपमा बेहोस अवस्थामा फेला परिन् । उनको कपाल काटिएको थियो ।’ होस खुलेपछि आशाले आफूलाई कुनै महिलाले आक्रमण गरेको बताइन् । उनले भनिन्, ‘१० सेकेन्ड जतिमा सबै कुरा भइसकेको थियो ।’ गुडगाउँबाट ७० किलोमिटरको दुरीमा रहेको रेवाडी जिल्लामा पनि यस्तै घटना प्रकाशमा आएको छ । जोनवासा गाउँकी २८ वर्षीय रिनादेवीका अनुसार उनीमाथि गत बिहीबार हमला भएको थियो । उनका अनुसार उनीमाथि मानिसले नभई बिरालोले हमला गरेको थियो । ‘म आफ्नो काम गरिरहेकी थिएँ, त्यतिबेला नै मैले एउटा ठूलो आकृति देखेँ,’ उनले भनिन्, ‘बिरालोजस्तै थियो त्यो, मेरो काँधमा केही भारी महसुस भयो, मलाई यतिमात्र याद छ ।’
खडखडा गाउँकी ६० वर्षीय सुन्दरदेवी शनिबार यस्तै घटनामा पीडित अर्की महिला हुन् । उनले भनिन्, ‘म छिमेकीको घरमा गइरहेकी थिएँ, पछाडिबाट कसैले मलाई काँधमा छोयो, म पछाडि फर्किएर हेर्दा कोही देखिएन । त्यसपछि के भयो भन्ने मलाई थाहै भएन ।’ २८ वर्षीय रिमादेवीका अनुसार गत बिहीबार उनको कपाल काटिदा उनी मोबाइलमा गेम खेल्दै थिइन् । उनले भनिन्, ‘मेरो पति र बच्चा कोठामै थिए । कपाल तानिएको जस्तो महसुस भयो, पछाडि फर्किएर हेर्दा मेरो कपाल काटिएको थियो ।’
गुडगाउँ प्रहरी प्रवक्ता रविन्दर कुमारका अनुसार प्राप्त उजुरीमाथि छानविन भइरहेको छ । ‘यो विचित्र घटना हो, हामीले घटनास्थलबाट कुनै तथ्य फेला परेको छैन । पीडितको मेडिकल टेस्टमा पनि कुनै प्रकारको असामान्य लक्षण देखिएको छैन ।’ कसैले कथित हमलाकारीलाई नदेख्नुबाट पनि अनुसन्धानमा जटिलता भएको उनले बताए । उनले भने, ‘केवल पीडितले हमलाकारीलाई देखेको वा महसुस गरेको भनेका छन्, हामी यस्ता घटनाको गहिराईमा पुग्छौं । त्यतिन्जेलसम्म म सबैलाई हल्लामा विश्वास नगर्न अपील गर्दछु ।’ – बीबीसीबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु