यूक्रेनमा अमेरिका र रुसको सम्बन्ध थप बिग्रँदै

२०७१ बैशाख ११ गते, बिहीबार


काठमाडौं, ११ वैशाख । यूक्रेन संकटमा रुससँग सम्बन्ध बिग्रँदै गएपछि अमेरिकाले आफ्ना सैन्य दस्तालाई पोल्याण्डमा उतारेको छ । पहिलो लटमा १५० अमेरिकी सैनिकलाई पोल्याण्ड उतारिएको हो । सैन्य अभ्यासका नाममा अरु ४५० सैनिकलाई पोल्याण्ड झारिने छ ।
यस्तो सैन्य अभ्यास पोल्याण्डकाअतिरिक्त लिथुआनीया, लात्भीया र इस्टोनीयामा पनि गरिने बताइएको छ । यूक्रेन अधिनस्थ क्राइमियालाई टुक्राएर आफूमा विलय गराएपछि रुस र यूक्रेनबीच बढ्दो तनावमा अमेरिकालगायत पश्चिमा मुलुक यूक्रेनका पक्षमा अभिएका छन् ।
क्राइमिया टुक्राएपछि पनि रुसले पूर्वी यूक्रेनमा रुसीभाषीलाई उचालेर यूक्रेनको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको आरोप यूक्रेनले लगाइरहेका बेला अमेरिकाले आफ्नो सैन्य दस्ता पोल्याण्डमा उतारेको हो । यसअघि रुसी विदेशमन्त्रीले भने यूक्रेनमाथि आफूहरुको स्वार्थका कसैले हस्तक्षेप गरेमा त्यसको रुसले राम्रै जवाफ दिने चेतावनी दिएका थिए ।
अमेरिकी उपराष्ट्रपति जो वाइडेनको भ्रमणकै क्रममा पूर्वी यूक्रेनमा आतंकवादी गतिविधि नियन्त्रणका नाममा थालिएको कार्वाहीलाई रुसले अमेरिकी उक्साहटमा भएको आरोपसमेत लगाइसकेको छ ।
रुसको यस्तो आरोपको खण्डन गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने आफूहरुको गतिविधि यूक्रेनमा बढिरहेको संकट कम गर्ने दिशामै रहेको भनेका छन् । अर्कातिर रुसी एअरक्राफ्टले हवाई सीमा उल्लंघन गर्दै आफूहरुको आकाशमा प्रवेश गरेको आरोप वेलायत, नेदरल्याण्ड र डेनमार्कले लगाएका छन् ।

प्रतिक्रियाहरु