युवा सङ्गठन नेपाल तिलोत्तमाको अध्यक्षमा लक्ष्मण थारू निर्वाचित

२०७७ असार २१ गते, आईतवार

काठमाडौँ , २१ असार । युवा सङ्गठन नेपाल तिलोत्तमा नगरपालिकाको प्रथम भेला लक्ष्मण थारूको अध्यक्षतामा १३ सदस्यीय नगर समिति निर्वाचित गर्दै सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेकपा रूपन्देही इन्चार्ज सङ्गमले देश परिवर्तनको जिम्मेवारी युवाहरूको काँधमा आएको भन्दै दलाल संसदीय व्यवस्थाविरुद्ध एकीकृत जनक्रान्तिको झन्डामुनि जोडिन आवश्यक रहेको बताए ।
युवा सङ्गठन नेपाल केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा युवाहरू एक हुनुपर्ने भन्दै केपी वली सरकारले संसदबाट पास गर्न लागेको एमसीसी सम्झौता खारेजीका लागि युवाहरूले सम्झौताहीन सङ्घर्ष गर्नुपर्ने बताए ।
भेलामा युवा सङ्गठन नेपाल रूपन्देही जिल्ला अध्यक्ष साइमन पनि उपस्थित थिए । कार्यक्रमको अध्यक्षता लक्ष्मण थारूले र सञ्चालन अनीश रसाइलीले गरेका थिए ।
यसअघि युवाले लुम्बिनी ब्युरोअन्तर्गतका रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, नवलपुर, नवलपरासी र अर्घाखाँची जिल्लामा एमसीसीविरुद्ध प्रदर्शन गरेका थिए । युवा सङ्गठन नेपाल रूपन्देहीले रातो पोसाक, लट्ठीसहित एमसीसी परियोजनाविरुद्ध प्रदर्शन पनि गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु