यी हुन् चर्चित पर्यटकीय गन्तब्यहरु

२०७३ कार्तिक ५ गते, शुक्रबार

काठमाण्डौ, ५ कात्तिक ।सुन्दर चियावारी, लाप्चाहरुको इतिहास, स्वच्छ हावापानी र रमाइला गाउँलेहरुसँग रमाउन इलाम त्यसै पनि चर्चित पर्यटकीय गन्तब्य हो । त्यसमध्ये हनिमुन मनाउन देखि प्रेम जोडीहरु डेटिङका लागि इलामलाई नै रोज्ने गर्छन । नेपाललाई प्रकृतिक रुपमा प्रसिद्धी दिलाउने यस्तै ठाउँ मध्येको एक हो इलामको सुर्योदय नगरपालिका । सुर्योदयनगर इलामको प्रवेश द्धार पनि हो । पश्चिम बंगालको दार्जिलिङ प्रवेश गर्न पनि सूर्योदय नगर नटेकी हुँदैन । इलामका सबै पर्यटकीय स्थलको भ्रमण प्याकेज बनाउँदा सूर्योदयकै द्धारबाट प्रवेश गर्नुपर्छ । इलामको ‘आइटिनेरी’मा सूर्योदयका प्वाइन्टहरु नसमेटे प्याकेज अपूरो हुन्छ । कन्याम होस् वा श्रीअन्तु अनि माइपोखरी, सन्दकपुर नै होस् वा भारतको दार्जिलिङ्ग र मिरिक नै किन नहोस् सबैको प्रवेश द्धार सूर्योदय नगरपालिका नै हो ।
समुन्द्री सतहबाट नौं सय देखि १८ सय १२ मिटरको उचाइमा अवस्थित सूर्योदय नपा सदरमुकाम इलामबजार देखि ३७ कि.मि. दक्षिणमा छ ।
झापाको चारआलीबाट ४० किलोमिटर हुइकिए पछि सूर्योदय नपाको मैदानमा टेक्न सकिन्छ । यहाँका करिब ९० प्रतिशतभन्दा बढी जनता कृषिमा आधारित छन् । त्यसमध्ये चिया खेती धेरैले रोजेका छन् । यसले कृषि पर्यटनका लागि यो क्षेत्र उत्कृष्ट मानिन्छ ।
इलामलाई आकर्षक गन्तव्य बनाउन सूर्योदयको उल्लेख्य भूमिका छ । पाँच ‘अ’ (अदुवा, अम्लिसो, ओलन, अर्थोडक्स, अकबरे)का अलावा अर्किड, अतिथि सत्कारका लागि मात्र नभई पर्यटनको प्रवेश द्धारका रुपले सूर्योदयले ख्याती कमाएको छ । घरि बादल, घरी घामको किरणले सूर्योदयका सबै डाँडाहरु झलमल्ल देखिन्छन् । जाडोमा न त अत्याधिक जाडो हुन्छ न त गर्मीमा पसिना आउने गर्मी नै हुन्छ । त्यसैले तराई मधेसबाट गर्मी छल्न सूर्योदयतिर उक्लिनेहरु प्रशस्त भेटिन्छन् । सिमित संख्यामा रहेका नेवारी समुदायहरुको संस्कार र संस्कृती यहाँको नौलो परिचय हो ।
मनोरम कन्याम
फिक्कलको दक्षिणमा पर्ने कन्याम आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि महत्वपूर्ण गन्तब्य हो । फिक्कलबजार बाट करिब चार किलोमिटर दक्षिणमा रहेको कन्याममा होटल तथा लजहरु धमाधम खुल्न थालेका छन् । नजिकै रहेको खेलमैदान ‘डुँढे गहिरो’मा पर्यटकहरु खेलेर रमाउने गर्छन ।
पर्यटकहरु हर्कटे बजारमा पुगेर किनमेल गर्न र होटलमा बसेर गफिन सक्छन् । हुरहुरे भन्ञ्याङको पिकनिक स्पट, नजिकैको लभडाँडा, निर्माणाधिन शहीद स्मृती पार्क, चिया कारखाना यहाँका घुम्न लायक स्थानहरु हुन् ।
यहाँका डाँडाहरुमा घन्टौं समय विताउँदा पर्यटकलाई पट्यार लाग्दैन् । घोडचढी यहाँको प्रमुख आकर्षणका रुपमा विकास हुँदै गएको छ । घोडा चढेर तस्वीर कैद गर्दा पर्यटकहरु खुबै आनन्द मान्छन् । स्थानीय तामाङ, लाप्चा, राई लगायत समुदायको रहनसहन र संस्कृती अर्को आकर्षण हो । फिल्म सुटिङ र पिकनिकमा रमाउनका लागि कन्याम सबैको रोजाइमा पर्ने गर्छ ।
सुदरेपानीको सुन्दरता
सुदरेपानी नेपालमा चिया-पर्यटनको विकास सुरु गर्ने स्थानका रुपमा परिचित छ । स्थानीय गोर्खा टी-स्टेट संचालनमा आएपछि यहाँ पर्यटनका सम्भावनाहरु बढ्दै गएका छन् । यहाँ टि टुरिज्मको अवधारणा अनुरुप होम स्टे पनि संचालनमा ल्याइएको छ ।
फिक्कल बजारबाट करिब दुई किलोमिटर टाढा रहेको यस स्थानमा योल्मू तथा राई समुदायको संस्कृती हेर्न र घरेलु हाते चियाको स्वाद लिंदै पर्यटकहरु रमाउन सक्छन् ।
रमाइला डाँडाबाट ग्रामीण बस्ती तथा फिक्कल बजारको दृश्यावलोकन गर्न खुबै मजा आउँछ । सुन्दरेपानी खेल मैदानमा पर्यटकहरु घन्टौं रमाउने अवसर पाउँछन् । योल्मू समुदायको संस्कृती बुझ्न सुन्दरेपानी अब्बल गन्तब्य हो ।
पन्चकन्याको पहिचान
पन्चकन्या देवीको दर्शन र करफोक सल्लाघारीको फन्को पर्यटक भूल्याउने गतिलो माध्यम हो । पन्चकन्या देवीको दर्शनले मनोकांक्षा पुरा हुने विश्वास भएकाले यहाँ धार्मिक पर्यटकहरुको भीड लाग्ने गर्छ । फिक्कल बजारबाट करिब तीन किलोमिटर टाढा रहेका मन्दिर मेची राजमार्गसँगै जोडिएको छ ।
मन्दिर नजिकै रहेको पहाडमा खनिएको गहिरो इनारले पर्यटकलाई थप भूल्याउन सहयोग पु¥याउँछ । त्यसका अलावा करफोक विद्या मन्दिरको शैक्षिक इतिहाँसको अध्ययन गर्न पर्यटकहरु पञ्चकन्यालाई रोज्न सक्छन् ।
पबित्र लाप्चा गुम्बामा दर्शन
नेपालका लोपोन्मुख लाप्चा जातिको फरक संस्कृती र पृथक इतिहाँस छ । यिनीहरुको संस्कृती, भेषभूषाको आफ्नै महत्व छ । त्यसबाहेक सूर्योदय नगरपालिका रहेका दुईवटा लाप्चा गुम्बा पर्यटकका लागि नमुना स्थल हुन् । कजेनी र फिक्कलमा रहेको गुम्बामा लाप्चाको विशेष आस्था र विश्वास रहेको पाइन्छ ।
‘रोङ से जुमठी’ अर्थात लाप्चा उत्थान मञ्चले गुम्बालाई संरक्षण र सम्बद्र्धन गर्ने काम गरिरहेको छ । बुद्ध जयन्ती, ‘नामउन नामआल’ पर्वका बेला गुम्बामा विशेष पूजा हुने गर्छ । यी दुवै गुम्बा दुई सय बर्ष पुराना हुन् ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व पूर्वी क्षेत्रमा बसोबास गर्दै आएका लाप्चा समुदायले गुम्बा बनाएको हुनसक्ने अनुमान गरिन्छ । प्राचीन शासक भनेर चिनिने लाप्चा समुदायले गुम्बालाई आफ्नो शक्तिपीठका आधारमा पूजा गर्दै आएको पाइन्छ ।
त्यसबाहेक लाप्चाहरुको पहिरन, रहनसहन साथै संस्कृती पर्यटकका लागि प्रमुख आकर्षण हुन् । सूर्योदय नगरकै काजी फाटकमा लाप्चाको ऐतिहासिक सामाग्रीहरु अझै पनि भेट्न सकिन्छ ।
मिर्मिरे डाँडाबाट सूर्योदय
चारैतिर चियावारी । डाँडा माथि सानो कच्चि टावर । टावरमा बसेर हेर्दा देखिने तराइका समथर फाँटहरु । दार्जिलिङ र इलामका अग्ला पहाडहरु । अनि टलक्क टल्किरहेको कञ्चनजंगा हिमालको मनमोहक दृश्य ।
त्यो भन्दा पनि महत्वपूर्ण त बंगोप सागरबाट उदाउँदो सूर्योदयको दृश्य आँखै अगाडी । वास्तवमा इलाम कन्याममा रहेको मिर्मिरे डाँडाको चित्रण यस्तै छ । विहानीको मिर्मिरेमा पश्चिम बंगालको खाडी तथा बंगोप सागरको छालबाट उदाउने सूर्योदयको दृश्यावलोकनका लागि अन्तुडाँडो नेपालकै उत्कृष्ठ मानिन्छ ।
मेची राजमार्गसँगै जोडिएको कन्याम स्थित चियाबगाको थाप्लोमा पर्ने मिर्मिरे डाँडामा अचेल पर्यटकहरुको भिड देख्न पाइन्छ । भर्खरै खुलेको कन्याम इन होटलबाट पाँच मिनेट हिडें यो डाँडामा पुग्न सकिन्छ ।
मिर्मिरेको पहिलो झुल्को लिएर देखापर्ने ‘सूर्यदेवता’को दर्शनका लागि यो डाँडो हिजोआज चर्चामा आउन थालेको छ । यहाँबाट विहान आठ मिनेटसम्म सूर्योदय भएको दृश्यावलोकन गर्न सकिन्छ ।
डाँडाबाट सेतै हिउँले ढाकेको कुम्भकर्ण र कञ्चनजंगा हिमाल मात्र होइन भारतको खर्साङ, मिरिक, सिलिगुढी जस्ता स्थान तथा अन्तुडाँडा, पशुपतिनगर बजार, तराईका सुन्दर फाँटहरु साथै आखैभरी चियावारीको दृश्यावलोकन पनि गर्न सकिन्छ । यहाँ निर्माण भएको टावर पनि यतिबेला भग्नावशेष अवस्थामा पुगेको छ ।
मनोरम सिमपानी
सुर्योदय नगरको डाक्टरखोला नजिकै पर्ने सिमपानी क्षेत्र खुबै मनोरम स्थल मध्ये एक हो । डाँडाभरी चियावारी, रमाइलो खेलमैदान, सानो पोखरी सिमपानीको आकर्षण हो । यहाँ पुगेर पर्यटकले घन्टौ विताउन सक्छन् ।
नजिकै रहेको चिया कारखानाको भ्रमण गरेर चिया प्रशोधनको प्रक्रिया बुझ्न पर्यटकलाई सजिलो हुन्छ । मेची राजमार्गसँगै रहेको सिमपानी आसपासका डाँडामा बसेर कन्यामको चियाबारी, फिक्कल बजार, ग्रामीण बस्तीहरु साथै भारतीय बजारहरुको मजाले अवलोकन गर्न सकिन्छ । यो क्षेत्रमा सानातिना कटेज र रिसोर्ट संचालनका लागि उपयुक्त मानिन्छ ।
प्रणामी मन्दिरको दर्शन
हिन्दु धर्मावलम्बीहरु मध्ये पर्ने कृष्ण प्रणामी समुदायहरु प्रणामी मन्दिरको दर्शनमा विशेष आस्था र विश्वास राख्छन् । सूर्योदय नगर क्षेत्र भित्र नै दुईवटा कृष्ण प्रणामी मन्दिर निर्माण भएका छन् ।
आरुबोटे र फिक्कलबजारमा रहेका मन्दिरहरुमा भारतीय पर्यटकहरुलाई तान्न सकिन्छ । पश्चिम बंगालमा प्रणामी समुदायको ठूलो संख्या रहेकाले यी मन्दिरमा दर्शन गर्न र भजन मण्डलीमा रमाउन भारत तथा नेपालकै धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।
करफोकको सौन्दर्य
करफोक इलामको पुरानो सदरमुकाम हो । उसबेला इलाम जिल्लालाई चारखोला भनिन्थ्यो । पछि यो एक शैक्षिक केन्द्रको रूपमा विकसित हुँदै गयो । त्यसपछि सदरमुकाम इलाम सारियो । स्वामी सोमेश्वरानन्दले यस स्थानमा तपस्या गरेका थिए र स्वामीकै इतिहास बुझन धेरै विद्यार्थीहरु करफोक पुग्ने गर्छन ।
विक्रम सम्बत २०११ मा करफोक विद्या मन्दिरको स्थापना भएपछि यो स्थान शैक्षिक हबका रुपमा विकसित हुँदै गएको छ । करफोक नजिकै रहेको ऐतिहासिक गढीको विशेष महत्व रहेको छ । त्यसबाहेक यहाँको हावापानी र सल्लाघारी भित्र हाइकिङ गर्न खुबै मजा आउँछ ।
योल्मू र लाप्चा जातिको संस्कृती
सूर्योदय नगर भित्र बसोबास गर्ने योल्मू र लाप्चा जातीकोे फरक संस्कार र संस्कृती छ । यीनिहरुको संस्कृतीमा रमाउन जोकोही पर्यटक लालायित हुन्छन् । लाप्चाको जति चर्चा छ योल्मू उतिसारो हुन सकिरहेको छैन् ।
त्यसैले यस जातीको संस्कृती बेचेर आयआर्जन गर्न सकिन्छ । इलाम जिल्लाका एक दर्जन जति गाविस रहेका ह्योल्मो जातिका मानिसहरु स्वभावले अत्यन्तै सोझा इमान्दार र सहनशील छन् ।
धार्मिक एवम् सामाजिक कार्यमा आस्था राख्ने बौद्ध धर्मावलम्वी यी जातीका मानिसहरु अतिथि सत्कार र शौखिन जिवन जिउन चाहन्छन् । आफ्नै भाषा, भेषभूषा, संस्कृति र संस्कार भएका यस जातिका मानिसहरु हिमाली तथा लेकाली क्षेत्रमा वस्न वढी रुचाउने गरेको पाइन्छ । लाप्चाको पनि पृथक पहिचान र संस्कृती पाइन्छ यसलाई नगरपालिकाले सक्दो सदुपयोग गर्न सक्नुपर्छ ।
लाप्चाहरुले वि.सं. १८८४ देखि वि.सं. २००५ सम्म प्रत्यक्ष रुपमा इलामको प्रशासन फिक्कलकै रम्फोकबाट चलाएका थिए ।
सिक्किमबाट भागेर आएका युक्लाथुपले तत्कालिन नेपाल सरकारबाट ५० नालबन्दुक सहितविर्ता लालमोहर र माना चामल लालमोहर प्राप्त गरेकमा थिए । यस्तो इतिहासको खोजकर्ताका लागि सूर्योदय गन्तब्य बन्न सक्छ ।
फिक्कल बजारको हटिया
सूर्योदय नगर भित्रको प्रमुख व्यापारिक केन्द्रमा प्रत्येक विहीबार लाग्ने हटिया पर्यटकलाई भूल्याउने माध्यम हो । बजारमा किनमेल गर्न जोकोही पर्यटक एक पटक फन्को लगाउन रुचाउँछन् । त्यस बाहेक पाँचथर, ताप्लेजुङ, सिक्किम दार्जिलिङ घुम्न आउने पर्यटक फिक्कललाई सपिङको केन्द्र विन्दु नै बनाउँछन् ।
त्यसैले फिक्ललबजार हटिया भर्न र कोशेलीहरु किनमेल गर्न पर्यटकका लागि भरपर्दो गन्तब्य हो । ललिपप, छुर्पी, बम्बइसन, चियापत्ती लगायतका खाद्यय सामाग्रीहरु सूर्योदयन गरको कोशेलीका रुपमा पर्यटकले किनमेल गर्न सक्छन् । फिक्कलको पान्दाममा रहेको अलैचि विकास केन्द्रको केन्द्रिय कार्यलय पनि फिक्कलको अर्को गन्तव्य हो । – युवराज गौतम, ईमेज

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार