यातायात मजदुरको आन्दोलन जारी

२०७५ आश्विन ५ गते, शुक्रबार

काठमाडौं, ५ असोज । सार्वजनिक यातायात मजदुरहरुले आह्वान गरेको यातायात बन्दका कारण आज चौथो दिन पनि देशका विभिन्न जिल्लाहरुमा यातायात सञ्चालन हुन सकेका छैनन् । मुलुककी फौजदारी संहिता २०७४ का केही बुँदाहरुमा आपत्ति जनाउँदै मजदुरले गाडी नचलाउँदा राजधानी काठमाडौं लगायत देशभरी नै यातायातको समस्या भइरहेको छ । टयाङ्कर चालकहरुले गाडी नचलाउँदा देशैभर पेट्रोलियम पर्दाथको अभाव देखिएको छ । चाडबाडको मुखमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । अत्यावश्यक सवारी साधनमा हड्ताल भइरहँदा पनि सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन ।
कानूनले अत्यावश्यक सवारी साधनमा हड्ताल गर्न नपाइने कडा कानूनी व्यवस्था राखेको छ । तर सरकार रमितेमात्र बनेको छ । नयाँ मुलुकी फौजदारी संहितामा सजायको कतिपय व्यवस्थामा विरोध गर्दै यातायात मजदुरहरु हड्तालमा छन् । तर, यो आन्दोलनको जिम्मेवारी औपचारिकरुपमा कसैले पनि लिएको छैन ।
कास्कीको पोखरामा कालो नम्बर प्लेटका बसहरू यातायात मजदुरहरूले चल्न दिएका छैनन् । गाडी नपाउँदा यात्रुहरु बसपार्कमा अलपत्र परेका छन् । हरियो नम्बर प्लेटका पर्यटक बसहरु भने चलिरहेका छन् ।
दाङमा यायातात समितिको टिकट काउन्टर खुले पनि यातायात व्यवसायीले चलानी काटेका छैनन् । अधिकांशले आफ्ना गाडीहरु घरमा र ग्यारेजमा थन्क्याएका छन् । गन्तव्यमा जान चाहने यात्रुहरु बसपार्क क्षेत्रमा अलपत्र परेका छन् ।
कैलालीबाट पनि लामो तथा छोटा दूरीका सवारी साधन चलेका छैनन् । प्रदेश–२ मा त सार्वजनिक र नीजि दुबै सबारी साधन ठप्प बनेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार