यही व्यवस्था उपयोग गरेर समाजवाद ल्याउँछौं भन्नु सिधा सिधा ठगी हो – बलराम तिमल्सिना

२०७५ असार ६ गते, बुधबार

निजीकरण र उदारीकरणलाई काँधमा बोकेर समृध्दिको गीत गाउँदै हिडेको आजको गणतन्त्र अव श्रमजीवी वर्गको साथी हो कि दुश्मन हो भनेर छिनोफानो गर्ने समय आयो । एकात्मकताको भाषा बोल्ने कोदो र तोरी मिसाएजस्तो मिश्रित पहिचान वाला संघीयताको अव यथार्थमा प्रगतिशील हो कि प्रतिगामी चरित्र ग्रहण भैसकेको हो भनेर पनि सोच्ने समय आयो । समावेशी समानुपातिक पध्दतिलाई हाल जसरी नेताहरूको तजविजमा प्रयोग गरिएको छ र जसरी समावेशिताका कोटाहरू दशैका सुँगुर खसीजस्ता पानी छम्केर मुन्टो हल्लाएको अवस्थामा छन् र तिनीहरूको घाँटीमाथि तरवार झुण्डिएको छ , त्यो हेर्दा यसलाई हेरेर समावेशी समानुपातिकका हिस्सेदारहरू कति भर पर्नु उपयुक्त छ भनेर गहिरो गरी सोच्न जरुरी छ । देशमा घोषणा गरिएको धर्म निरपेक्षता र सरकारका प्रमुखहरूको हिन्दूपीठहरूमा देखिएको हिजोकै राजाहरूकोजस्तो दौडधुप र पूजापाठ अनि राज्यको एक धार्मिक चरित्र हेर्दा धर्म निरपेक्षता कति कागजमा र कति व्यवहारमा छ भनेर सोच्नै पर्ने भएको छ ।
समग्रमा भन्नु पर्दा वर्मान व्यवस्था प्रगतिशील व्यवस्था मानेर यो व्यवस्थासँग सहकार्यको मैत्रीपूर्ण नीति लिने कि यो व्यवस्थालाई प्रतिकृयावादी व्यवस्था मानेर यसको समूल अन्त्यको लागि आवस्यक रणनीति तथा कार्यनीति विकास गर्ने भन्ने कुरा ज्यादै महत्वपूर्ण छ । वर्तमान व्यवस्था वारे विश्लेषणको कुरा कुनै पार्टी यथास्थितिवादी , सामान्य सुधारवादी या क्रान्तिकारी के हो भनेर छुट्याउँने मानक पनि बन्न पुग्छ ।मलाई के लाग्छ भने ( आफैले लडेर ल्याएको भएको भए पनि)वर्तमान व्यवस्थाले प्रगतिशील चरित्र क्रमश गुमाएर प्रतिकृयावादी सार ग्रहण गरिसकेको छ ।पुरानो प्रतिकृयावादी राज्य संयन्त्रलाई अलिकति पनि नचलाई त्यही संयन्त्रको चालक बन्न गएकाहरू सारमा यही संयन्त्रका करारका कर्मचारी भैसकेका छन् र तिनीहरू क्रमश स्थायी बन्दै छन् ।समाजवादी क्रान्तिको लक्ष बनाएका इमान्दार कम्युनिष्टहरूले यो व्यवस्थाको विरुध्द लड्ने मौलिक बाटो निर्माण गरेर मात्रै समाजवादको वास्तविक यात्रा सुरु हुन सक्छ । अन्यथा यही व्यवस्थामा सामान्य थपघट गरेर , सुधाररेर या उपयोग गरेर समाजवाद ल्याउँछौं भन्नु सिधा सिधा ठगी हुन पुग्छ ।

प्रतिक्रियाहरु