यस वर्ष सगरमाथा नचढ्ने घोषणा

२०७१ बैशाख ८ गते, सोमबार


काठमाडौं,८बैशाख । हिमपहिरोमा परी आफ्ना १३ जना साथीहरुको पुरिएर मृत्यु भएपछि सगरमाथा आरोहीका सहयोगीहले यस वर्ष सगरमाथा नचढ्ने भएका छन् । उनीहरुले सन् २०१४ लाई आरोहणको कालो दिन भन्दै आफूहरु यो वर्ष सगरमाथा नचढ्ने घोषणा गरेका हुन् ।
शुक्रबार सगरमाथाको आधार शिविरबाट पहिलो क्याम्प जानेक्रममा हिउँ पहिरो गएको थियो । पहिरोले आफ्ना साथिहरु गुमेपछि आधार शिविरमा शुक्रबारदेखि आइतबारसम्म बसेको सिनियर गाइड, आरोहण टोलीका नेता तथा सहयोगीहरुको बैठकले यो वर्ष सगरमाथा नचढ्ने, चढ्नका लागि आधार शिविर पुगेकाहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले सम्पूर्ण आरोहीलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, आरोहणका क्रममा मृत्यु भएमा मृतकका परिवारका बालबच्चालाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, आरोही सहयोगीको जीनव बिमा बढाएर २० लाख रुपैयाँ पुर्‍याउनुपर्ने लगायतका १२ बुँदे माग सरकारसमक्ष राखेका छन् ।
सगरमाथामा भर्‍याङ बनाउने कामको जिम्मा पाएको सगरमाथा पोलुसन कन्ट्रोल कमिटीले पनि सहयोगीहरुले सगरमाथा आरोहण नगर्ने निर्णय गरेको बताएको छ । आरोही सगरमाथा चढनेपनि आफूहरुको भर्‍याङ निर्माणको काम नरोकिने कमिटीले जनाएको छ । उक्त कमिटीले आठजना आइसफल डाक्टरमार्फत सगरमाथामा भर्‍याङ बनाउने काम गर्दै आएको छ ।सहयोगीको निर्णयमा आइसफल डाक्टरले पनि सहमति जनाएका छन् । सरकारले भने यसको औपचारिक पुष्टि गरेको छैन् ।

प्रतिक्रियाहरु