म निर्धो छैन – वैरागी जेठा

२०७४ असार ८ गते, बिहीबार

प्रिय काल माक्र्स
म निर्धो छैन
नेपाली माटो भन्छ
मेरो आँगन
निर्भीक छ
मेरो ,प्यारो नेपाल !
कालो रासँग जुझेर
रूख र पातहरूको
मीठो आवाजमा
विहान पर्खिरहेको छ
मेरो घर
हामी कम्युनिष्टहरू
छिमेकीहरूसँग सामाना गरिरहेछौँ
पुष्पलालहरू
फुलिरहेछन्
हाम्रो सगरमाथामा
भारतीय सैनिकहरू
हामीसँग धावा खोलिरहेछन्
मुर्दा भारतीहरूले
सताइरहेकाछन् ।
हजारौँ शहीदका प्रेरणाले
हामी जाग्नु छ ।
हामी लडिरहेका छौँ
वर्गसंघर्ष जित्न
राष्ट्रकालागि
हामी लडिरहेकै हुने छौँ
हामी मरेर
नेपालकै जीत हुने छ
सारा किसानका हृदयमा
हामी सधैँ
बाँचीरहने छौं
मिझिड.बाट
आकाशतिर हेर्दै भनिरहेछु
साथी भाइहरू
हामी माथि , आशा गरिरहेका छन्
तिम्रा विचारहरू
हामीहरू
धागाले बेरेझैँ बेर्दै
हामी यात्रामा
बेरिसकेका छौँ ।
मन सोचीरहेको छ
तेस्रो विश्व युद्ध
बन्दुक सोझ्याएर
हामी अघिबढीरहेकाछौँ
झिसमिस उज्यालो नहुँदै
ठूला ठूला पाखर र
विशाल मानव भञ्ज्याङहरूमा
म निर्धो भएको छैन
कालमाक्र्स
अमर भनिनेहरूले
जतिसुकै प्रहार गरुनन
्भोजपुरे खुकुरीको धारझैँ
मेरा सृजनाहरू
श्यामलका आँसुझैँ झरिरहेका हुन्छन्
शत्रुहरूको घेरा तोड्दै
कविताको क्याम्पमा
मेरो कलम गएको छ
म ढुक्क छु !
मुकावला गर्नैपर्छ
हाम्रा वैचारिक कलमहरूले
धीरता पूर्वक सामना गर्दै
कुमाउ ,अल्मोडा
नालापानी र देऊथलहरू
प्राप्त गर्नु छ !
दृढतापूर्वक म भन्छु
आराम त्यागेर
उठ नेपालीहरू
जब सम्म
कुमाऊ हाम्रो हुने छैन
तब सम्म लडिरहेकै हुने छौँ ।
इतिहास भन्छ
बिर्सनौ हामी नेपालीहरू !
उन्मत्त स्मृतिका छापहरू
युग युगका यात्राहरू
म भुल्ने छैन
माक्र्स
त्यसैले
भनिरहेछु आज
म निर्धो छैन !
नहेप मानिसहरू !
राँकोझैँ उज्यालो
बज्रझैँ गह्रौँ
मेरो नेपाल !
मेरो मोक्ष छैन
प्रिय माक्र्स !

प्रतिक्रियाहरु