मौसमको जानकारी इमेल र एसएमएसमार्फत

२०७३ चैत्र ९ गते, बुधबार

काठमाडौं, ९ चैत । हिमाल आरोहणका क्रममा हुने ठूला दुर्घटना रोक्न हरेक घन्टाको मौसमको अग्रिम जानकारी दिन थालिएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सुरक्षित आरोहणका लागि माउन्टेन गाइड, आरोही गाइड र सम्पर्क अधिकृतलाई चैत २ देखि इमेल र एसएमएसमार्फत घन्टैपिच्छेको मौसमसम्बन्धी जानकारी दिन थालेको हो । आरोहण दल हिमाल जानुअघि पाँच दिनसम्मको मौसमी विवरण उपलब्ध गराउन थालिएको छ । आवश्यकताअनुसार घन्टैपिच्छे मौसमी अवस्था र पूर्वानुमानको जानकारी दिन थालिएको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक उत्तम भट्टराईले बताए ।
मौसमको जानकारी नहुँदा हिमालमा दुर्घटना बढेकाले यसबाट बचाउन सेवा सुरु गरिएको उनले बताए । आरोहण अवधिभर मौसमसम्बन्धी जानकारी दिइनेछ । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ (एनएनएमजीए) सँग सहकार्य गरी अभियान सुरु गरिएको हो ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले मौसमविद् केबी मानन्धरलाई नियुक्त गरी हिमाली क्षेत्रको मौसमबारे सूक्ष्म जानकारी र पूर्वानुमान थालेको हो ।मौसमको जानकारी नहुँदा हिमपात, हिमपहिरो र आँधीले ज्यानै जाने खतरा हुन्छ । क्याम्पिङको व्यवस्था, थप सुरक्षाका योजना निर्माण गर्न मौसमको जानकारी भए सहयोग मिल्ने प्रतिष्ठान बताउँछ ।
मौसमको जानकारी नभएकाले सन् २०१४ मा अन्नपूर्ण क्षेत्रमा हुदहुद आउँदा करिब पचासजनाको मृत्यु भएको थियो भने करोडौंबराबरको सम्पत्तिमा क्षति पुगेको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु