मौनताको महामारी – बलराम तिमल्सिना
उनीहरूले क्रमश गरे आफ्नो काम
यिनीहरू मौन बसेर हेरिरहे !
कसैले सिकाइदियो यिनीहरूलाई-
मौनता एक महानता हो
मौनता एक वौध्दिकता हो
मौनता एक परिपक्कता
र मौनता एक भलाद्मी पन हो
त्यही पत्याएर आजसम्म
विचरा यिनीहरू मौन बसिरहे !
उनीहरूले पहिले आँखा मागे
यिनीहरू दानी पल्टेर दिए !
उनीहरूले त्यसपछि कान मागे
महादानी हुन त्यो पनि दिए !
आँखा र कान गुमाएपछि पनि
यिनीहरूसँग
गुदी सहितको टाउको थियो
हात थिए
खुट्टा थिए
ओठ र जिब्रो थिए
उनीहरूले क्रमश ती सवै मागे
यिनीहरूले सवै भेटी चढाउँदै गए !
यिनीहरूसँग पनि थियो
अलिकति निष्ठा
अलिकति आदर्श
अलिकति विवेक
केही चिचिला सपनाहरू
उनीहरूले यी सवैकुरा माग्दै गए
यिनीहरूले एक एक गर्दै दिदै गए !
अव यिनीहरूसँग वाँकि छ-
नियमित लाग्ने भोक
भोक जगाउँने एक थान भुँडी
केही लोभ
केही पाप
केही अस्लिल उत्तेजना
मात्र एत्ति छ यिनीहरूसँग !
हिजो आज
वोल्न चाहेर पनि बोल्न सक्दैनन्
सिङ्गै समुदाय आवाजहीन भएको छ !
यो मौनताको मौका छोपेर
उनीहरू थप कुरा माग्न खोज्दैछन् !
एउटा गहिरो प्रश्न जन्मेको छ-
उनीहरूले के माग्लान विचराहरूसँग ?
यिनीहरूसँग छ
केवल मौनताको महामारी !