मोसुल विमानस्थल सेनाको नियन्त्रणमा

२०७३ फाल्गुन १३ गते, शुक्रबार

काठमाडौं, १३ फागुन । इराकी सेनाले मोसुल विमानस्थल आफ्नो नियन्त्रणमा लिएको छ । अतिवादी इस्लामिक स्टेटको कब्जामा रहेको विमानस्थलमा चार घण्टाको आक्रमणपछि इराकी सेनाले पुनः आफ्नो नियन्त्रणमा लिएको हो । विमानस्थल नियन्त्रणमा लिएसँगै दोस्रो ठूलो शहर मोसुलबाट आइएसलाई भगाउन सेनालाई सहज हुने बताइएको छ ।
सेनाले आक्रमण गरेपछि विमानस्थलमा ठूलो भिडन्त भएको थियो । त्यस क्रममा आइएसका लडाकुहरुले भित्रि इलाकाबाट विमानस्थलतर्फ मोर्टार आक्रमण गरेका थिए । पूर्वी मोसुल भने सरकारी सेनाले गत महिना नै आफ्नो नियन्त्रणमा लिएको थियो । तर यो विमानस्थल मोसुलको पश्चिमी क्षेत्रमा पर्छ । पश्चिम क्षेत्रको ठूलो भूभाग अझै आइएसको नियन्त्रणमा छ । यस क्षेत्रमा ठूलो बसोबास रहेकाले सेनालाई कारबाही गर्न भने कठिन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैबीच संयुक्त राष्ट्र संघले मोसुलमा भएको सेना र आइएस लडाकुको भिडन्तका कारण फसेका सर्वसाधारणलाई लिएर चिन्ता व्यक्त गरेको छ । मोसुलमा आठ लाख मानिस फसेको आशंका छ । डेढ लाख भन्दा बढी मानिस भने आफ्नो घरबाट भागिसकेको बताइएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु