मोरङमा पनि स्वाइन फ्लु

२०७१ फाल्गुन १४ गते, बिहीबार

काठमाडौं ,१४ फाल्गुन । विराटनगरमा स्वाइन फ्लुका एकजना शंकास्दप बिरामी भेटिएपछि स्वास्थ्य सतर्कता उच्च बनाइएको छ । भारतको आसामबाट आएका एकजनामा रोगको लक्षण देखिएको कोशी अञ्चल अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सक दीपक सिग्देलका अनुसार ती विरामी रोगबाट ग्रस्त भए नभएको पत्ता लगाउन थप केन्द्रीय प्रयोगशालाको परिक्षण रिर्पोट पर्खनुपर्ने छ ।
ती विरामीलाई निगरानीमा राखेर उपचार गर्ने तयारी भएको कोशी अञ्चल अस्पतालका निमित्त मेसु डा.टंक बाराकोटीले जानकारी दिए । उनले भने,‘रोगीको अवस्था हेरेर निगरानीमा उपचार गर्ने तयारी छ ।’
रोगको जोखिम बढेपछि विराटनगरमा उच्च सतर्कता अपनाइएको छ । बाहिरबाट आउनेको स्वास्थ्य अवस्थाको सिमाक्षेत्रमा विशेष निगरानी गर्न थालिएको छ ।
जोगबनी सिमानाकामा हेल्थ डेस्क राख्ने र भारतबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरिने जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । जनस्वास्थ्य प्रमुख भानु येङ्देनले भने,‘सिमामा सबै तयारी गरिएको छ । निजी अस्पतालहरुलाई पनि जनचेतनामुलक कार्यक्रम गर्न आग्रह गरिएको छ ।’
यसैबीच कोशी अञ्चल अस्पतालले स्वाइन फ्लुका बिरामी राख्न दशवटा अतिरिक्त बेड राख्ने निर्णय भएको छ । अस्पतालमा दशवटै बेड बिहीबारबाटै तयार गरिएको छ ।
अस्पतालका निमित्त मेसु डा. टंक बाराकोटीले भने,‘रोगको लक्ष्यणअनुसार उपचार हुने भएकोले हामीले अस्पतालमा अलग्गै बेडको व्यवस्था गरेका छौं । निजी अस्पतालहरुसँग पनि सहकार्य हुनेछ ।’
खासगरी भारत यात्रामा गएका र उताबाट नेपालतर्फ आउने यात्रुहरुमा रोगको जोखिम बढी भएकोले उनीहरुसँगको संसर्गबाट टाढा रहनु पर्ने बाराकोटीले बताए ।
जनस्वास्थ्य प्रमुख येङ्देनले जोगबनी नाकामा बिहीबारबाटै हेल्थ डेस्क सञ्चालनमा ल्याइने जानकारी दिए । यो नाकाबाट नेपालतर्फ दैनिक ठूलो संख्यामा दुबै देशका मानिसहरु ओहोर दोहोर गरिरहने भएकोले सिमामै सतर्कता अपनाउन लागिएको उनले बताए । येङ्देनले भने,‘रोगको संक्रमण फैलन नदिन हामीले सबै प्रयास गर्ने निर्णय गरेका छौं ।

प्रतिक्रियाहरु