मोबाइल सेवा अवरुद्ध

२०७४ जेष्ठ ५ गते, शुक्रबार

काठमाडौं, ५ जेठ । नेपाल टेलिकमको बैतडीमा रहेका दुईवटा टावरमा चट्याङले क्षति पुर्‍याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ । गत वैशाख २५ गते परेको चट्याङले सतबाँझ र सिल्लेकमा रहेको टावरमा क्षति पु¥याउँदा फोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्राविधिक रामजी घिमिरेले बताए । उनले भने, ‘अवरुद्ध फोन सेवा सुचारु गर्नका लागि धनगढीबाट प्राविधिकको टोली आउने भएकाले अझै एक–दुई दिन लाग्छ ।’
मोबाईल सेवा अवरुद्ध हुँदा सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाको केही क्षेत्रलगायत स्थानीय बासिन्दा सञ्चारविहीन भएका स्थानीयवासी जयराज अवस्थीले जानकारी दिए ।
सतबाँझमा रहेको टावरले काम नगर्दा सुर्नया गाउँपालिकाको शिखरपुर, शङ्करपुर, रौलेश्वर, वासुलिङ्ग, भौनेलीलगायत क्षेत्र, पाटन नगरपालिकाको गुजर, सिद्धेश्वरलगायत ठाउँमा समेत फोनसेवा अवरुद्ध भएको छ भने सिल्लेकमा रहको टावरले काम नगर्दा दोगडाकेदार गाउँपालिकाका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् । फोन सेवा अवरुद्ध हुँदा हजारौँ ग्राहकलाई समस्या हुुनाका साथै सञ्चारविहीन भएका छन् । – रासस

प्रतिक्रियाहरु