मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने !

२०७४ मंसिर २४ गते, आईतवार

काठमाडौं, मंसिर २४ । मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँकेका २०० ओटा खोल ल्याए रु ५० र सुर्ती एवं गुट्खाका खोल ५०० ओटा ल्याए रु १०० दिने घोषणा गरिएको छ । शनिबार मोबाइल रिचार्जका खोल र सुर्ती एवं गुट्खाका खोल ल्याउनेलाई रु १५० पुरस्कार दिइएको चक्रपथ सफाइ अभियानका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए । चक्रपथ सफाइको ३७औं हप्तामा शनिबार ग्रीनसिटी अस्पताल–बसुन्धराचोक हुँदै पुनः ग्रीनसिटी अस्पतालसम्म सफाइ गरी पाँच मेट्रिकटन फोहर व्यवस्थापन गरियो । ग्रीनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा १०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति रहेको अभियन्ता टण्डनले बताए ।
उपत्यकामा शनिबार नदी र चक्रपथ सफाइ गरी ३९ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २३९औं हप्तामा शनिबार बानेश्वर क्याम्पस अघिको वाग्मती नदी किनारमा सफाइ गरी ८ मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, मुक्तिनाथ विकास बैंक, हाम्रो पाइला, तिलगंगा महिला समूहलगायत संस्थाका ४५० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी नारायण श्रेष्ठले जानकारी दिए ।
सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, अभियन्ता डा. राजु अधिकारी, टंक आचार्य, राजकुमार भट्टराईलगायत अभियन्ताको सक्रियता थियो ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको २००औं हप्तामा शनिबार हनुमान घाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
सफाइ २०० हप्तामा प्रवेश गरेको अवसरमा बगैंचा गोडमेल र सफाइका विषयमा छलफल कार्यक्रम आयोजना गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए ।
रुद्रमती सफाइको १९६औं हप्तामा शनिबार बत्तीसपुतली राममन्दिर क्षेत्रमा सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताए । सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन भयो ।
सफाइमा समाज, वातावरण संरक्षण अभियान र प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो । सफाइमा महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
विष्णुमती सफाइको १६७औं हप्तामा तारकेश्वर नगरपालिका वडा नम्बर–११ स्थित तारकेश्वर गुम्बामा सफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा ३५० जनाभन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए ।
यसैगरी, मीनभवन आलोकनगर सफाइको ३७औं हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताइन् । सफाइमा ५० भन्दा बढी महिलाको सहभागिता थियो ।
वि.सं. २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ । फलस्वरुप अहिलेसम्म ४२ स्थानमा सफाइ भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ । – पूर्णप्रसाद मिश्र (रासस)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु