मोदीको मुड ठिक छैन : ट्रम्प

२०७७ जेष्ठ १६ गते, शुक्रबार

काठमाडौँ, १६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मुड ठीक’ नभएको टिप्पणी गरेका छन् । भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो अभिव्यक्ति आएको हो । बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले भारत र चीनबीच ‘ठूलो द्वन्द्व’ चलिरहेको पनि बताए । एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले मोदीसँग कुराकानी गरेको थिएँ । दुई देशबीचको तनावलाई लिएर भारत खुसी छैन । शायद चीन पनि खुसी छैन होला । चीनसँग जे भइरहेको छ, त्यसबाट मोदीको मुड ठीक छैन ।’
भारत–चीनबीचको सीमा विवादमा आफूले मध्यस्थता गर्ने प्रस्ताव गर्दै आएका ट्रम्पले सो भनाइ पुनः दोहोर्याएका छन् । ‘दुवै देशबीच १ अर्ब ४० करोडको जनसंख्या छ । दुवैसँग पर्याप्त सेना छन् । भारत र चीन सायद दुवै खुसी छैनन्,’ एक भारतीय पत्रकारको प्रश्‍नको जवाफका क्रममा उनले भने । गत बुधबार राष्ट्रपति ट्रम्पले ट्वीट गरेर दुवै देशबीच सीमामा जारी तनाव समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएका थिए । उनले लेखेका थिए, ‘उनीहरुलाई यदि यसबाट सहयोग मिल्छ भन्ने लाग्छ भने म यो काम गर्न सक्छु ।’
। चीनबाट ट्रम्पको प्रस्तावप्रति कुनै प्रतिक्रिया आएको छैन । चिनियाँ अखबारले भने दुवै देशलाई यस किसिमको सहयोगको खाँचो नभएको बताएका छन् । भारतले ट्रम्पको मध्यस्थताको प्रस्तावमा कूटनीतिक जवाफ दिएको छ । बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा जारी तनावको शान्तिपूर्ण समाधानका लागि चीनसँग कुराकानी भइरहेको बताएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु