मोदीको नेपाल भ्रमण र ‘प्रगतिशील धुन्धुकारी’ – खेम थपलिया

२०७५ बैशाख २७ गते, बिहीबार

नेपाल र नेपाली जनताका असली दुश्मन भारतीय साम्राज्यवादका नाइके नरेन्द्र दामोदर मोदी नेपाल (२८ वैशाख, २०७५३) आउने भएका छन् । नेपालमा शक्तिशाली भूकम्प गएको बेला नेपाली जनताको दैनिक जीवन अत्यन्त कष्टकर भएको बेला उल्टै नाकाबन्दी गरेर नेपाली जनताको घाउमा नूनचूक दल्ने मोदी नेपाली जनताका अगाडि महाअपराधी हुन् भन्ने कुरामा कुनै शङ्का छैन । मोदीको नेपाल भ्रमणलाई लिएर देश–विदेशमा तीब्र विरोध भइरहेको छ, जुन अत्यन्त स्वाभाविक र जायज कदम हो । नेपाली युवाहरूका साथै, विभिन्न राजनीतिक विश्लेषक, बुद्धिजीवीदेखि राजनीतिक दलहरू पनि सशक्त रूपमा मोदीको विरोधमा उत्रिएका छन् । नेपाल र नेपाली जनतालाई नाकाबन्दी गरेर मोदीले दुःख दिएकै कारण एकातिर देशव्यापी रूपमा नागरिकहरू आक्रोशित बनेका छन् भने अर्कोतिर भारतीयहरूको सदैव हस्तक्षेपकारी भूमिकाले पनि हैरान भएका छन् । त्यसकारण दुष्ट र महाअपराधी मोदीको चारैतिर चर्को विरोध भएको हो ।
मोदीका कारण नेपालीहरूले वर्षौंदेखि सीमाक्षेत्रमा हेपाइ भोगिरहेकाहरू यतिबेला आक्रोश पोखिरहेका छन् । सीमाक्षेत्रमा भारतीय सीमा सशस्त्रबलले नेपाली नागरिकलाई दिइरहेको दर्दनाक पीडा सामान्य छैन । पोहोर मात्रै पश्चिममा भारतीय सशस्त्र बलद्वारा गोविन्द गौतम मारिए । नेपालमा ‘मोदी पसु हो यसलाई सम्मान होइन, घाँस हाल्नुपर्छ भन्दै व्यापक विरोध भएको छ । आफ्नै प्रान्तीय सरकारलाई जस्तै निर्देशन गरी आफैँले समय घोषणा गरेर आफ्नै सवारी साधन र सुरक्षा फौजसहित मोदी नेपाल आउनु सरासर नेपालमाथि ठाडो हस्तक्षेप हो । मोदीले आफ्नो भ्रमणलाई ‘धार्मिक यात्रा’ भने पनि उसको मुख्य उद्देश्य अरुण ३ कब्जा गर्नु हो । भारतीय प्रम नरेन्द्र मोदीको यो भ्रमण हिन्दूत्व र छिमेकीसँग असल सम्बन्ध देखाएर आगामी चुनाव आफ्नो पक्षमा पार्ने अभियान पनि हो, यता खपु (खड्गप्रसाद ओली र पुष्पकमल दाहाल) सरकार सत्तामा टिकिरहने दाउ पनि हो । यसपटक खपु (खड्गप्रसाद ओली र पुष्पकमल दाहाल) सरकारले लम्पसारवादको पराकाष्ठा नै देखाएको छ, जसका कारण नेपालको सम्मान अत्यन्त घायल भएको छ । अब खपु (खड्गप्रसाद ओली र पुष्पकमल दाहाल) सरकारको राष्ट्रवाद कमल थापाको राष्ट्रवादभन्दा फरक रहेन, हुन पनि सक्तैनथ्यो ।
मोदीद्वारा नेपाल भ्रमण तय भएपछि उनी आउने जनकपुरमा (मुख्यमन्त्री र राजेन्द्र महतोसहित) झाडु लगाइएको छ । मुस्ताङको जङ्गलमा पनि त्यसै गरिएको छ । त्यहाँ सर्वसाधारणका लागि आवतजावत गर्न प्रतिबन्ध छ । उनको सुरक्षाका लागि ५ तहमा १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उनलाई जनकपुर र काठमाडौंमा नागरिक कथित अभिनन्दन गरिने भएको छ । आफ्नै देशको राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिर टेक्दा अपवित्र भएको भन्दै सुनपानीले चोख्याउनेहरू कथित छिमेकी मुलुकका प्रधानमन्त्री नरेन्द्र मोदीले टेकेका हरेक पाइलाको धुलोलाई पवित्र ठानेर टीका लगाउन मरिहत्ते गरिरहेका छन् । हुन त विश्वभरका मानिसहरू विभिन्न देश आवत–जावत गरिरहेका हुन्छन्, यो सामान्य कुरा हो तर मोदीको आगमनलाई यहाँका लम्पसारवादीहरूले महान् अवसरका रूपमा लिइरहेका छन् । यसबाट नेपालको वाम–गठबन्धन र खपु (खड्गप्रसाद ओली र पुष्पकमल दाहाल) सरकार भारतीय रिमोटबाट (मुख्यतः रअ र इन्डो–सीआईए) बनेको र उसैद्वारा निर्देशित रहेको कुराको पुनर्पुष्टि भएको छ । वास्तवमा मोदीको यो भ्रमण सरासर ‘मनोवैज्ञानिक’ ब्ल्याकमेलिङ हो ।
कथित प्रदेश २ का मुख्यमन्त्री भनिएका लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ गते हुने जनकपुरधाम भ्रमणलाई पर्वका रूपमा मनाउन प्रदेशवासीलाई आग्रह गरेका छन् । उनले भ्रमणलाई सभ्य र भव्य बनाउन आ–आफ्नो घरअगाडि सरसफाइ गर्न तथा फूलमालाको सजावटसहित पानीले भरिएको पूजा कलश राख्न सर्वसाधारणसँग आग्रह पनि गरेका छन् । मुख्यमन्त्री राउतले अभिनन्दन समारोहमा आठ जिल्लाका पाँच लाख नागरिक सहभागी हुने अनुमान पनि पत्रकार सम्मेलनका क्रममा गर्न भ्याए । उता एमालेले पनि आफ्ना कार्यकर्तालाई अभिनन्दनमा जान उर्दी नै जारी गरेको छ । योजत्ति लाजशरमको विषय सायद अर्को कुनै हुन सक्तैन ।
यता नागरिक अगुवाहरू ‘नाकाबन्दी गर्ने मोदीलाई अभिनन्दन नगरौँ’ भन्दै विरोध गरिरहेका छन् । मधेसकै नागरिक समाजका अगुवाहरूले पनि मोदीलाई अभिनन्दन गर्न नहुने बताइरहेका छन् । नागरिक अगुवाहरूले नेपालमाथि नाकाबन्दी गरेर मानवीय सङ्कट सिर्जना गरेको भन्दै मोदीलाई अभिनन्दन नगर्न काठमाडौँ महानगरपालिका र जनकपुर उपमहानगरपालिकालाई आग्रह गरेका हुन् । साथै, मोदीको सुरक्षाका लागि दुईवटा बुलेटप्रुफ गाडीसहित ४१ सुरक्षाकर्मी नेपाल आइपुगेका छन् । नेपाली छातीमा अहिले भारतीय साम्राज्यवादी सेनाको मार्चपास भइरहेको छ । लम्पसारपादी खपु (खड्गप्रसाद ओली र पुष्पकमल दाहाल) सरकार भारतीय बुटको ‘गरपगरप’ को समधुर सङ्गीतमा लट्ठ परिरहेछ । साथै, खपु (खड्गप्रसाद ओली र पुष्पकमल दाहाल) सरकार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गर्ने, यातना दिने र आतङ्कित पार्ने कामलाई आफ्नो बहादुरी ठानिरहेको छ, जसका कारण सामाजिक दलाल पुँजीवादका विरुद्ध अनिवार्य जनप्रतिरोधको परिस्थिति बन्दै गएको छ ।
अझ गज्जब त के भएको छ भने नेपाली राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र नेपाली सांस्कृतिक मूल्यमाथि खपु (खड्गप्रसाद ओली र पुष्पकमल दाहाल) सरकारको कुशल व्यवस्थापनमा भारतीय साम्राज्यवादी नरेन्द्र मोदीद्वारा दिनदहाडै बलात्कार भइरहँदा नेपालका ‘प्रगतिशील धुन्धुकारी’ हरूको अखडा सुनसान भएको छ । प्रगतिशील अखडाको नाइके बन्न मरिहत्ते गर्नेहरू ‘महान्’ मोदीको स्वागतार्थ जनकपुर झरिसके कि काठमाडौंमै छन् ? यथाशीघ्र जानकारी पाउन सके धेरै–धेरै आभारी हुने थिएँ ।

प्रतिक्रियाहरु