मोटरसाइकलभन्दा हेल्मेट महँगो !

२०७५ बैशाख २२ गते, शनिबार

काठमाडौँ । दुईपांग्रे चलाउँदा हेल्मेट लगाउनु अनिवार्य छ । तर यहाँ हामी यस्तो हेल्मेटको चर्चा गर्दैछौं जसले चालकलाई वरपरको गतिविधिसम्बन्धी पूर्ण जानकारी दिन्छ । चालकको पछाडिको पूर्ण दृश्य हेल्मेटभित्र मास्तिरको सानो स्क्रिनमा देखिन्छ । हेल्मेटको पछिल्तिर ३६० डिग्रीको भिजन वाइड एंगल क्यामरा छ जसले त्यसभित्रको स्क्रिनमा भिडियो देखाउँछ । त्यसले गर्दा चालकले बारम्बार रियरभ्यु मिररमा हेरिरहनुपर्दैन । जापानको राजधानी टोकियोस्थित क्रसहेल्मेट कम्पनीले पाँच वर्षको मेहनतपछि यसलाई तयार पारेको हो । कम्पनीका अनुसार यसको उत्पादन शुरु भएको छ । प्रिअर्डर गर्दा यसको मूल्य १,५९९ डलर पर्छ अर्थात् नेपाली मूल्यअनुसार एक लाख ७० हजार रूपैयाँ जति पर्छ । यतिमा त एउटा मोटरसाइकल आउँछ । पछि चाहिँ यसलाई १,७९९ डलरका रिटेल स्टोरमा उपलब्ध गराइनेछ । हेल्मेटमा बिल्ट इन ब्लूटूथ अडियो इन्टरफेस छ । चालकले बोल्दा मात्र पनि यसले बाटो देखाउने, गीत बदल्ने र फोन कल उठाउने काम गर्छ ।
स्मार्ट हेल्मेटमा समय, ब्याट्री लेभल र कम्पास पनि देखिन्छ । इन्टरकमको सुविधा पनि यसमा दिइएको छ । यसले एक हेल्मेटलाई अर्को हेल्मेटसँग जोडेर दुई चालक र एक चालक तथा एक यात्रुसँग कुरा गर्ने अनुमति दिन्छ । क्रस हेल्मेट टीमले यस हेल्मेटमा एक्टिभ नोइज क्यान्सिलेसन सिस्टम लगाएको छ । यसले इन्जिन र हावाको आवाजलाई भित्र पस्न दिँदैन अनि चालकले हेल्मेटको स्पीकरबाट प्रस्ट जानकारी सुन्न पाउँछ । हेल्मेटलाई बटन र नोबको साटो स्मार्टफोन एपमार्फत नियन्त्रण गर्न सकिन्छ । विशेष एपले नै मिडिया सेलेक्ट गर्न र ध्वनि एडजस्ट गर्न सजिलो हुन्छ । १ । ७८ किलोग्राम तौल भएको यो हेल्मेटमा विशेष ब्याट्री लगाइएको छ । कम्पनीले दाबी गरेअनुसार ब्याट्रीले ६ देखि आठ घन्टाको ब्याकअप दिन्छ । ब्लूटूथ, जीपीएस, रियर भ्यू क्यामरा र डिस्प्लेलाई लामो समयसम्म उपयोग गर्न पनि ब्याट्री ब्याकअप प्रभावशाली हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु