मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने !

२०७६ जेष्ठ ५ गते, आईतवार

काठमाडौं, ५ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले मोटरसाइकल तथा स्कुटरको पछाडि सिटमा चढ्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको बताएका छन । एसएसपी पन्तले पत्रकार सम्मेलन गरेर सवारी दुर्घटना न्यूनिकरणका लागि यो व्यवस्था लागू गर्न लागिएको बताएका हुन् । उनका अनुसार पछिल्लो समय दुई पांग्रे सवारीका कारण दुर्घटनाको हुने क्रम बढी छ । ‘दुइपांग्रे सवारीमा चढ्ने दुवैजानाले हेल्मेट लगाउनु पर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेका छौ। यातायात व्यवस्था ऐन २÷३ महिनामा स्वीकृत हुन्छ र करिव ६ महिनामा यो कार्यान्वयनमा आउछ,’ पन्तले भने। हेल्मेट पनि साधारण नभई आइएसओ स्ट्याण्डर्डको हुने पन्तले जानकारी दिए। ‘नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटको मापदण्ड तयार पारिसकेको छ। हामी त्यही अनुसार अगाडि बढ्छौ,’ उनले भने।
विभागले बाहिरी मेटेरियल के को हुने, केसिङ स्टक्चर कस्तो हुने, बाहिरको आवाज शून्य क्षमता कति हुने, लक लोड, भाइजरको क्वालिटी कस्तो हुनपर्ने भन्ने कुरा मापदण्डमा उल्लेख गरेको छ। सोही अवसमा उनले ट्राफिक कारबाहीमा परेका व्यक्तिको सहजताका लागि अनलाइन पेमेन्ट सेवाको पनि सुरुवात् गर्न लागिएको बताए । उनले भने, ‘हामीले सडकमै रसिद काट्न मिल्ने गरिको सिस्टम बनाइरहेका छौं । त्यसपछि मोबाइलबाटै जरिवाना तिर्न सकिनेछ ।’ उनले उपत्यकामा टेम्पो र निलो माइक्रोलाई विस्थापित गरेर ठूला सवारीलाई प्राथमिकता दिने योजना रहेको पनि बताए ।

प्रतिक्रियाहरु