मोगेरिनीसँग सेल्फी लिन सांसदहरुको होडबाजी

२०७४ श्रावण २३ गते, सोमबार

काठमाडौ, २३ साउन । ईरानका राष्ट्रपति हसन रुहानीको दोस्रो कार्यकाल सुरु भएको अवसरमा आयोजित कार्यक्रममा भाग लिन पुगेकी युरोपेली युनियनकी वरिष्ठ अधिकारी फेडरिका मोगेरिनीसँग सेल्फी लिन ईरानी सांसदहरुको होडबाजी चलेको प्रसंगले ईरानमा विवाद निम्त्याएको छ । सार्वजनिक भएका केही तस्वीरमा ईरानका पुरुष सांसदले सेल्फी लिनकै लागि फेडरिकालाई घेरेको देखिन्छ । सोशल मिडियामा ती तस्वीरसहित कयौंले ईरानी सांसदको आलोचना गरेका छन् । उनीहरुले सांसदहरुको व्यवहार ‘अपमानजनक’ भएको टिप्पणीसमेत गरेका छन् । समाचार एजेन्सी फार्सले पोस्ट गरेको एक तस्वीरमा कयौं प्रतिक्रिया आएका छन् । केहीले भने ईरानी सांसदको सो व्यवहारलाई ‘पश्चिमी मुलुकसामू आत्मसमर्पण’ भनि टिप्पणी गरेका छन् ।
राष्ट्रपतिका सांस्कृतिक सल्लाहकार हेसाम एशेनाका अनुसार यो राजनीतिक नभई सांस्कृतिक समस्या हो, सेल्फीमा देखिएका सांसदहरुसँग गम्भीरतापूर्वक स्पष्टिकरण माग्नु पर्दछ । आफ्नो नियुक्तिलगत्तै युरोपेली युनियन र ईरानबीको सम्बन्धलाई सुधार गर्न प्रयासरत फेडरिकाले भने ईरान भ्रमणका बारेमा औपचारिक धारणा प्रकट गरे पनि सेल्फी विवादबारे कुनै प्रतिक्रिया जनाएकी छैनन् । युरोपेली युनियनले ईरानको परमाणु कार्यक्रम र मानवअधिकारलाई लिएर कयौं प्रतिबन्ध लगाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु