मेराे कलम खाेस्ने र भाँच्ने कुचेष्टा नगर – ओम हमाल

२०७४ मंसिर २० गते, बुधबार

तिमी मेराे पछि कति लाग्छाै, लाग ।
म अविरल मेराे गन्तव्यमा लम्किरहनेछु ।
तिमी मेराविरूद्ध जति षड्यन्त्र गर्छाै, गरिराख ।
भण्डाफाेर गर्दै चिरेर अघि बढ्नेछु ।
तिमी जतिसुकै विवाद गर्छाै, गरिराख ।
म प्रतिवाद गरिरहनेछु ।
तिमी मविरूद्ध जति प्रतिशाेध साँध्ने हाे, साँध ।
म निरन्तर प्रतिराेध गरिरहनेछु ।
मेराे प्रगतिमा तिमीलाई जलन भयाे भने भन ।
तिमीले भनेजति अमृतजल दिलाउनेछु ।
मेराे अविचलित मनमा भुईँचालाे ल्याउन खाेजेका हाेअाै भने राेक ।
मलाई शान्तसँग जनताकाे सुदलु:ख साट्ने कलम चलाउन देऊ ।
म एक शान्तिप्रिय कलमजीवि हुँ,
मलाई कलम चलाएर बाँच्न देऊ ।
मेराे कलम खाेस्ने र भाँच्ने कुचेष्टा नगर ।
कलमभन्दा तरवार बलियाे हुन्छ भन्ने साेँच्न वाध्य नबनाऊ ।

प्रतिक्रियाहरु